
काठमाडौं, २ माघ । दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन नेपाल-भारत क्रस-बोर्डर पेट्रोलियम पाइपलाइनबाट इन्धन चोरी भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बिहारको सिवानस्थित लकडी नबीगञ्ज क्षेत्रको डुमरा गाउँ नजिकै पाइपलाइनबाट इन्धन चोरी भएको हो ।
भूमिगत पाइपमा प्वाल पारेर उक्त प्वालमा सानो पाइप ‘फिट’ गरेर इन्धन चोरी भएको नवभारत टाइम्सले जनाएको छ । कहिलेदेखि यसरी इन्धन चोरी हुँदै आएको हो र हालसम्म कति इन्धन चोरी भयो भन्नेबारे प्रस्ट हुन सकेको छैन । इन्डियन आयल कर्पोरेसनका अधिकारीहरुले घटनास्थलको निरीक्षण गरिसकेको जनाइएको छ । नवभारत टाइम्सका अनुसार बिहारमा यस प्रकारको चोरीको यो पहिलो घटना हो ।
पाइपलाइनमाथिको जमिनमा इन्धन चुहावट देखिएपछि पाइपलाइनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले इन्डियन आयल कर्पोरेसनलाई जानकारी दिएका थिए । इन्डियन आयल कर्पोरेसनका कर्मचारी तथा प्राविधिक टोलीले स्थलगत अनुसन्धान गरेपछि चोरीको तथ्य प्रकाशमा आएको हो ।
तेल चोरी सम्बन्धी घटना बारे स्थानीय प्रहरी चौकीमा उजुरी समेत दर्ता भएको छ। मेन पाइपलाइनबाट तेल चोरी भएपछि भारत सरकारको करोडौं रुपैयाँ नोक्सान भएको बताइएको छ । खेतमा डिजल बग्न थालेपछि पेट्रोलियम पाइपलाइनबाट चोरीको घटनाबाहिएकाे हाे । पाइपलाइनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले तेल लिक भइरहेको जानकारी आइओसीका अधिकारीहरुलाई गराएका थिए।
आइओसीका अधिकारीहरुले अनुसन्धान गरेपछि मात्रै मुख्य पाइपलाइनबाटै तेल चोरी भइरहेको तथ्य बाहिरियो । सो पाइपबाट हरेक दिन हजारौं लिटर डिजल चोरी गर्न सक्ने गरी पूर्वाधार तयार भएको पाइएको छ।
२०७६ भदै २५ गते भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्मको पाइपलाइन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘भिडियो कन्फरेन्स’मार्फत उद्घाटन गरेका थिए । पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याउँदा चोरीमा कमी आउने दाबी गरिएको थियो ।- नवभारत टाइम्स