
राजविराज, ४ माघ । पूर्वपश्चिम लोकराजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका ६ स्थित आइतबार बिहान सुमोले रोकिएको ट्याक्टर ठोकिदाँ भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
खड्क नगरपालिका ८ गिरधारी राईस मिल स्थित राजमार्गमा रोकी राखेको स १ त २५१२ नम्बरको ट्याक्टरमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको मे १ ज २४५२ नम्बरको सुमोले ठक्कर दिएको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।
सो दुर्घटनामा परी सुमोमा सवार झापा जिल्लाको शिवसतासी नगरपालिका ११ डुरामणी बस्ने मानप्रसाद लिम्बुको २५ वर्षीय छोरा रुपेश लिम्बुको मृत्यु भएको प्रहरीले बताइएको छ । दुर्घटना परी गम्भीर घाइते उनको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सोही दुर्घटना परेर सुमो चालक पाँचथर जिल्लाको फिदिम नगरपालिका ३ बस्ने वर्ष ३४ को टेकबहादुर दर्जी, सुमो सवार झापा गौराद नगरपालिका ४ वस्ने वर्ष ३६ को जितबहादुर श्रेष्ठ घाइते भएका छन । चालकको छिन्नमस्ता अस्पताल राजविराज र श्रेष्ठको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेका ट्याक्टर, सुमो र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिहहेको छ ।