
काठमाडाैं, ४ माघ । प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा पूर्वराज्यमन्त्री मोतीलाल दुगड नियुक्त भएका छन् । आइतबार प्रधानमन्त्रीको सिफारिशमा मन्त्रिपरिषद्ले उनको नियुक्ति गरेको हो ।
सल्लाहकार दुगडले मङ्गलबारदेखि सिंहदरबारमा आफ्नो कार्यभार सम्हाल्ने छन् । उनी यसअघिका विशेष आर्थिक सल्लाहकार डा युवराज खतिवडाका स्थानमा नियुक्त भएका हुन् ।
विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएपछि दुगडले मुलुकमा विद्यमान आर्थिक अनियमितता हटाउँदै आर्थिक समृद्धि गर्ने विषयमा आफूले प्रधानमन्त्रीलाई सिफारिश गर्ने बताए ।
उनले भने, “औद्योगिकीकरणमार्फत आर्थिक गतिविधि बढाउँदै बेरोजगारी हटाउने, आयातनिर्यात सन्तुलन कायम गर्ने, व्यापार घाटा घटाउने, आर्थिक अनियमितता हटाउने र भ्रष्टाचार निवारण गर्ने विषयमा मेरो विशेष जोड रहने छ ।”
सही बजेट विनियोजन, आयातनिर्यात, शेयर मार्केट, बैकिङ, राजश्व आदि विषयमा पनि आफू केन्द्रित हुने उनले जानकारी दिए । विराटनगर स्थायी निवास भएका पूर्वसांसद दुगड यसअघि नेपाल सद्भावना पार्टी, नवनेपाल निर्माण पार्टी, नेकपा(एमाले) हुँदै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)सँग आबद्ध भएका थिए ।