
एजेन्सी, ५ माघ । इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले युभेन्टसलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा इन्टरले युभेन्टसमाथि २–० को जित निकालेको हो ।
इन्टरको जितमा आर्टुरो भिडाल र निको बरेल्लाले गोल गरे । १२औं मिनेटमा भिडालको गोलबाट घरेलु टोलीले १–० को अग्रता बनाएको थियो ।
५२औं मिनेटमा बरेल्लाले गोल गरेपछि इन्टर २–० ले विजयी हुन सफल भयो ।
युभेन्टसले अग्रपङ्तिमा क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटालाई खेलाएपनि उनीहरुको प्रदर्शन फितलो बन्यो । सिरी ‘ए’ मा युभेन्टसको यो दोस्रो हार हो ।
युभेन्टसमाथिको जितसँगै इन्टरले शीर्षस्थानको एसी मिलानसँग अंक बराबरी गरेको छ । इन्टरको १८ खेलबाट ४० अंक पुगेको छ ।
एक खेल कम खेलेको मिलानको पनि ४० अंक छ । पराजित युभेन्टस १७ खेलबाट ३३ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।