
सुनसरीको लगायत तराईका साथै देशभरिको क्षेत्रमा मैथिल र थारु समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको आज मुख्य दिन हो । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ । विगतमा नाचगानका साथ मनाइने यो पर्वमा यस वर्ष कोरोना भाइरसको कारण त्यति उल्लास छैन । यस वर्ष घरमै बसेर र अनलाईनमा जितिया पर्व मनाइरहेका छन् । आज जितियाको दोस्रो दिन महिलाहरु बिहानैदेखि नखाईकन ब्रत बस्छन् । बिहानै नुहाई धुवाई गरी बेलको पात टिपेर खोलामा गई पिनाले (खैर) नुहाई पातमा पिना (खैर) बगाउन दिनभर नखाईकन ब्रत बस्ने र साँझ जितिया पर्वको कथा सुन्ने (श्रवण) चलन छ ।
भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै सबै ब्रतालु खोलामा नुहाएर निराकार प्रतिमूर्ति बनाएर पूजा गर्छन् । खोलाबाट घर आइसकेपछि ब्रतालुले दहि चिउरा, केरालगायत खानेकुरा खान्छन् । त्यसपछि भने ब्रत सकिएसँगै जितिया पर्व सकिन्छ । अविवाहितले राम्रो श्रीमान् पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै जितियाको ब्रत बस्ने गर्छन् । जितिया पर्वको अवसरमा एकआपसमा शुभकामना अद्रानप्रदान ब्यक्त गरेको छ ।