
विराटनगर, ७ माघ । सुनसरीको देवानगञ्ज घर भएका मनोजप्रसाद मेहता तीन वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका थिए । देवानगञ्ज–६ घर भएका उनी मलेसियाको एक फर्निसिङ कम्पनीमा कार्यरत छन् ।
उनी मलेसिया गएको तीन वर्ष पूरा भइसकेको छ । मलेसियाले तोक लगाएको भिसाको मिति सकिसकेको छ । २८ डिसेम्बर २०२० मै उनको भिसा सकिएको हो । तर, उनी नेपाल आउन पाएका छैनन् । आफूलाई स्वदेश पठाउन लागि उनले कम्पनीलाई बारम्बार अनुरोध गरिरहेका छन् ।
कम्पनीका हाकिमले नेपाल जाने जहाज उपलब्ध नभएको भन्दै उनलाई घर पठाउन आनाकानी गरिरहेको छ । ‘कम्पनीसँगको तीन वर्षे सम्झौता सकिएको महिना दिन हुन लाग्यो’, ग्रामीण खबरसँग आफ्नो समस्या राख्दै मनोजले भने, ‘बाहिर निस्कौं भने गैरकानूनी भइसकेको छ । प्रहरीको फेला परेमा जेल बस्नुपर्छ । कम्पनीले हामीलाई पठाउन चाहेको छैन । तर, मेरो घरमा समस्या छ । म जसरी भए पनि घर फर्किन चाहन्छु ।’
उस्तै समस्या छ, सिन्धुली घर भएका कृष्णबहादुर तामाङको । सिन्धुली भुवनेश्वरी गाउँपाललिका–६ घर भएका कृष्णको पनि भिसा सकिएको छ । मनोज र कृष्ण सोही कम्पनीमा विगत तीन वर्षदेखि कार्यरत छन् ।
तीन वर्षे सम्झौता सकिएपछि उनी पनि जबरजस्ती त्यहाँ काम गर्न बाध्य भएका छन् । घर पठाउनका कम्पनीले आनाकानी गरिरहेको छ । सोही कम्पनीमा कार्यरत रघुवीर मेहता र कृष्ण रायको पनि समस्या त्यही नै हो ।
रघुवीरको घर देवानगञ्ज–६ नै हो भने कृष्ण राय सर्लाहीको चक्रघट्टी हो । यी चारै जनाले आफूलाई घर पठाइदिन आग्रह गर्दै उनीहरु कार्यरत कम्पनी सेनी दया वुड्स इन्ड्रष्ट्रिजलाई अनुनय–विनय गरिरहेका छन् ।
त्यति मात्र नभएर क्वाललम्पुरस्थित नेपाली राजदूतावाससमक्ष निवेदनसमेत दिइएका थिए । ‘एमएसीमा फलो अपका लागि फोन गर्दा रिसिभ हुँदैन’, मनोजले भने, ‘कम्पनीमा निरन्तर नेपाल प्लेन जान्छ भनेर जानकारी गराउँदा पनि केही हुन सकेको छैन । बोसलाई सुनाउँदा कुट्न खोज्छ । जबरजस्ती काम गर्न बाध्य छौं ।’
उनीहरुका अनुसार उनीहरु बसेको स्थानबाट दूतावास जान पनि एक दिन लाग्छ । ‘दूतावास जान टाढा छ । फेरि अब हामी इलिगल भइसकेका छौं । बाहिर प्रहरीले पक्रियो भने जेलमा बस्नुपर्छ ।’
उनीहरु काठमाडाैंस्थित हमिदाह इन्टरनेशनल प्रा.लि.मार्फत मलेसिया गएका थिए । सो कम्पनीसँग यसबारे बुझ्नखोज्दा फोन-सम्पर्क हुन सकेन ।