
विराटनगर, ६ माघ । प्रदेश नं १ नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा हतारिएर निर्णय गर्नुपर्ने अवस्था नभएको बताएका छन् ।
नेकपा प्रचण्ड–माधव नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेसँगै कांग्रेस सरकारमा सहभागी हुने–नहुनेबारे चर्चा सुरु भएको छ । यसै विषयमा मंगलबार बसेको संसदीय दलको बैठक विना निष्कर्ष टुंगियो ।
नेता कोइरालाले केन्द्रको निर्णयपछि निर्णायक छलफल हुने बताए । हतारिएर निर्णयमा पुग्नुपर्ने अवस्था नरहेको बताउँदै उनले भने, ‘अविश्वासको प्रस्तावको एउटा प्रोसेस हुन्छ । थप छलफल गर्छाैँ ।’
यसैगरी उनले नेपाली कांग्रेसले मुख्यमन्त्रीमा पनि दाबेदारी प्रस्तुत गर्ने बताए । दुवै समूहसँग छलफल भइरहेको उल्लेख गर्दै उनले भने, ‘वार्ताका लागि सबै विकल्प खुला छ । केन्द्रसँग समन्वय गरेर ठोस निष्कर्षमा पुग्छौँ ।
आज बसेको बैठकले कुन समूहसँग सहकार्य गर्ने भन्ने विषयमा निष्कर्षमा नपुगेको उनले बताए । ‘सरकारलाई सहयोग गर्नपनि कांग्रेसलाई गाह्रो छ,’, उनले भने, ‘हामी एकतातर्फ आन्दोलन गरिरहेका छौँ । कांग्रेसको दोहोरो चरित्र नदेखियोस् भन्ने छ ।’
उनले संसदीय दलको बैठक बुधबार बिहान पुनः बस्ने जानकारी दिए ।