
विराटनगर, ६ पुस । जंगलमा घाँस काट्न गएकी सुन्दरहरैँचाकी एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । जंगलमा घाँस काट्दै गरेका बेला हात्तीले आक्रमण गर्दा सुन्दरहरैँचा नगरपालिका–१० की २८ वर्षीया सीता पराजुलीको मृत्यु भएको हो ।
मंगलबार बिहान ९ बजेतिर जंगली हात्तीले हात्तीले आक्रमण गरेर गम्भीर घाइते भएकी पराजुलीलाई उपचारका लागि विराटनगरस्थित कोसी अस्पताल ल्याइएको र उपचारका क्रममा दिउँसो डेढ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
‘जंगलमा घाँस काट्न गएकी महिला हात्तीको आक्रमणबाट घाइते भएपछि उद्दार गरेर कोसी अस्पताल लग्यौं,’ इप्रका बेलबारीका प्रहरी प्रमुख प्रहरी निरीक्षक ऋषिराज ढकालले भने, ‘अस्पतालमा उपचारका क्रममा घाइते महिलाको मृत्यु भयो ।’
छरछिमेकीसँग लोहोन्द्रा साझेदारी वनमा घाँस काट्न जाँदा जंगली हात्तीले आक्रमण गरेको र पराजुलीसँगै गएकी मीरा बोगटी भने भाग्न सफल भइन् । घटनापछि हात्ती कराउँदै जंगलको पश्चिमतर्फ लगेको प्रहरीले जनाएको छ ।
बाक्लो हुस्सुकै कारण नजिकै आउँदा पनि नदेख्दा जम्काभेट भएपछि हात्तीले आक्रमण गरेको हुनसक्ने स्थानीयले बताए । घटनास्थल वरपर हात्तीका धेरै पाइला भेटिएका छन् । दुई साताअघि देखिनै गाउँ आसपास ४-५ वटा जंगली हात्ती देखा परेको स्थानीयले प्रहरीलाई खबर दिइएको बताइएको छ ।
‘दुई साता अघिदेखि नै जंगल आसपासमा हात्तीको गतिविधि बढेकाले सबैलाई सावधानी अपनाएर सुरक्षित रहन आग्रह गरेका छौं,’ वडाध्यक्ष राजेन्द्रबहादुर थापाले भने, ‘सावधानी अपनाउँदा अपनाउँदै पनि मावनीय क्षति भयो । हात्ती दिनभर जंगलतिर बस्ने र रात परेपछि गाउँतिर छिर्ने गरिरहेका छन् ।’