
विराटनगर, ७ माघ । दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ विरुद्वको खोप कोरियामा रहने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकलाई निःशुल्क प्रदान गर्ने बताएका हुन् ।
यसअघि आफ्ना स्वदेशी नागरिकलाई मात्र निःशुल्क प्रदान गर्ने बताए पनि नयाँ निर्णय गर्दै विदेशीलाई पनि उक्त खोप निःशुल्क दिने भएको हो । यससँगै यहाँ रहेका ५० हजारभन्दा बढी नेपालीले पनि उक्त खोप निःशुल्क प्राप्त गर्न सक्नेछन् ।
आगामी महिनादेखि सञ्चालन गर्ने भनिएको उक्त खोपको पहिलो प्राथमिकतामा अग्रमोर्चामा रहने स्वास्थ्यकर्मी, स्वयंसेवक पर्नेछन् । त्यसपछि प्राथमिकताअनुसार वृद्ध, बालबालिका, अशक्त, अपाङ्गता भएका व्यक्ति हुँदै सबैलाई वितरण गरिनेछ ।
यद्यपि, अवैधानिक तवरले बस्ने तथा स्वास्थ बीमा नभएका विदेशी नागरिकलाई भने उक्त खोप निःशुल्क दिने वा नदिने भन्नेबारेमा भने कोरिया सरकार मौन छ । कोरियामा अवैधानिक तवरले बस्नेहरूको सङख्या पनि ठूलै हुनसक्ने अनुमान छ ।