२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

महोत्तरी, ७ माघ । लगातारको बाक्लो हुस्सु र तुसारोले तरकारी बालीको उत्पादन लिन नपाइने चिन्ताले महोत्तरीका तरकारी किसान हैरान भएका छन् । पुस अन्तिम सातादेखि लगातार बढेको बाक्लो हुस्सुसँगैको तुसारोले हरियो तरकारीको बेलो सुकाउनसँगै रोग बढाएपछि यहाँका किसानको हैरानी बढेको हो ।

पछिल्लोपटक गत पुस २७ गतेयता गत आइतबार मध्याह्नपछि र सोमबार मात्र घाम देखिएको थियो । त्यसपछि फेरि बाक्लो हुस्सुसँगै तुसारो बढेपछि तरकारीबालीको स्याहार केही गर्न नपाइएको यहाँका किसानले बताएका छन् । मौसमका कारण तरकारीको स्याहार र उपचार पनि गर्न नपाएको चिन्ताले बिरक्तिएका बर्दिवास नगरपालिका–९ पशुपतिनगरका तरकारी किसान रामविनोद महतोले भने,  “खेतबारीमा बोट नै नदेखिने गरी तुसारो छ, लगातारको शीतलहरले बोट पहेँलिएका छन्, फल आफैँ कुहिएर झर्दैछ । आँखाभरि बिजोग हेरेर बस्नुपरेको छ, अब उत्पादन हात पर्ने आस मर्यो ।”

परवल, सिमी, करेला र बोडीसहितका बेला (लहरा) आफैँ पहेँलिएका र भण्टा, कोभी, टमाटरसहितका बोट क्रक्रिएर फल कालो हुँदै कुहिएर झर्ने गरेको किसान बताउँछन् । झारले तरकारीका बोट छोपिसक्दा पनि मौसमको प्रतिकूलताले गोडमेल गर्न नपाइएको र उपचारले काम नगरेको रामविनोदकै छिमेकी अर्का तरकारी किसान जवाहर महतो बताउँछन् । “हेर्नोस् न, उ टमाटर कुहिएर बग्रेल्ती झरेका”, टमाटर बारीतिर देखाउँदै जवाहरले भने, “मौसम उघ्रेर घाम नलागी न बारी पस्न सकिन्छ, न उपचार नै काम लाग्छ ।”

यसपालि मङ्सिर अन्तिम सातामै शुरु भएको शीतलहर पुस मध्यताका हटे पनि पुसकै अन्तिम सातामा फेरि बढेको हो । माघ लागेपछि बाक्लो हुस्सु र तुसारो पर्ने क्रम रोकिने आस पनि पहिलो साता बित्दासम्म पूरा हुने छाँट नदेखिएको किसान अड्कल गर्छन् ।

आइतबार दिउँसो घाम देखिँदा अबचाहिँ उघ्य्रो भन्ने परेको थियो, सोमबार त बिहानै घाम देखियो पनि” भङ्गाहा नगरपालिका–४ का किसान चन्देश्वर राय दनुवार भन्छन्, “हामीले सोचेकोजस्तो किन हुन्थ्यो, सोमबार साँझैदेखि फेरि बाक्लो हुस्सुले ढाकिहाल्यो ।”

बाक्लो हुस्सु, चिसो स्याँठ र तुसारोले गलाएको तरकारीको बोट जति उपचार गरे पनि ठिक नभएको किसानको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!