
विराटनगर, ८ माघ । संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुबीच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा यस आर्थिक वर्षको ६ महिनामा मात्र ३ हजार ३ सय १४ मुद्धा दर्ता र १८ करोड भन्दा बढी राजश्व संकलन भएको छ ।
संगठन प्रमुखको निर्देशनलाई पालना गर्ने र गराउनेतर्फ विशेष ध्यान दिई समाजमा हुने अपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकाशी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भएअनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको हो ।
यस आर्थिक वर्षको ६ महिनामा मात्र ३ हजार ३ सय १४ वटा विभिन्न अपराध सम्बन्धी मुद्धा दर्ता भई कारवाही गरिसकिएको छ भने फैसला कार्यान्वयनतर्फ विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहँदै आएका ४१७ जना फरार प्रतिवादी पक्राउ गरी १ करोड ५२ लाख ७० हजार ९ सय ८२ रुपैयाँ राजश्व संकलन भएको छ ।
यसैगरी लागुऔषध नियन्त्रणतर्फ बिशेष ध्यान दिई ब्यापक रुपमा प्रहरी परिचालन गरेअनुसार १ हजार १६४ ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको छ भने ३३६.३१२ केजी गाँजा बरामद भएको छ । यसैगरी बिभिन्न मनोद्धिपक क्याप्सुल २८ हजार ५५० ट्याब्लेट बरामद भएको तथा मनोद्धिपक सुई ३ हजार ९५८ एम्पुल बरामद भएको छ ।
यसैगरी २ हजार ३६२ रोपनीमा लगाएको गाँजा खेती फडानी गरी ८ लाख २७ हजार २६६ गाँजाका बोट नष्ट गरिएको छ । यसैगरी भन्सार चोरी निकाशी तर्फ अबैध रुपमा समान चोरी निकाशी गर्ने ८० जना मानिस पक्राउ गर्नुका साथै ७ करोड ९९ लाख ८ हजार १०५ रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने ११९ जना मानिस र ५४० वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ३७ लाख ७५ हजार ७२० राजश्व संकलन भएको छ ।
यसैगरी अबैध काठ चोरी निकासी गर्ने ३६ जना मानिस पक्राउ गर्नुका साथै १५६९ क्यू.फिट. काठ बरामद गरी २० लाख ६५ हजार ९८० रुपैयाँ राजश्व संकलन भएको छ ।
यसैगरी ट्राफिक ब्यबस्थापन तर्फ यस आर्थिक बर्षको ६ महिनामा मात्र ट्राफिक नियम उलंघन गर्ने १ लाख २४ हजार ८८९ वटा सवारी साधनलाई कारवाही गर्दा ७ करोड ६८ लाख ४९ हजार ५०० राजश्व संकलन भएको छ । यसरी यसै आर्थिक बर्षको ६ महिनामा मात्र कुल १८ करोड २२ लाख ४ हजार ४७७ राजश्व संकलन भएको हो ।