
काठमाडाैं, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताएका छन् । प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलाको आज उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीले अवरोध चिरेर विकास र समृद्धिका यात्रामा अघि बढ्न सरकार र पार्टी दृढताका साथ लागेको जनाउनुभयो ।
“देशमाथि सांस्कृतिक र अनेक हमला भइरहेको छ । यसमा हामी सबै सजग हुनुपर्छ । देश बनाउने र बचाउने हो भने हामीले सहमति कायम राख्न आवश्यक छ”, उन्ले भने, “हामी कुनै आक्रोश, उत्तेजना र पूर्वाग्रह साध्ने होइनो । हामी रातो झण्डा फहराउनेवालाहरु हौँ । काला झण्डा बोकेर हिँड्नेवाला होइनौँ । हामी उज्यालो र चम्किलो भविष्यतर्फको गन्तव्यतर्फ अघि बढ्न स्पष्ट छौँ, हामीसँग देशलाई अघि बढाउने चम्किलो गन्तव्य छ । हामीलाई देश बनाउनु छ । सुशासन र विकासको बाटामा जानु छ ।”
अर्काे प्रसङ्गमा प्रधानमन्त्री ओलीले पीत पत्रकारिता आफैँ हराएर जाने जनाउँदै देश, जनता, लोकतन्त्र, स्थिरता र सत्यका पक्षमा कलम चलाउन पत्रकारलाई आग्रह गरे ।