
कन्चनपुर, १२ माघ । शुक्लाफाँटा नगरपालिका–३ का काउली खेतीमा संलग्न किसान यज्ञराज गौतमले आठ कट्ठा जग्गामा रोपेको काउली बेच्नका लागि तयार भएको छ । खेतमा फलेको काउली बिग्रिन थाले पनि खरिद कर्ता पाएका छैनन् । दुई साताअघि प्रतिकिलो रु ५० देखि ५५ थोकमा बिक्री भइरहेको काउलीको बजार मूल्य ह्वात्तै घटेर रु १० देखि १२ मा झरेपछि उनी निकै चिन्तित छन् । उनले भने, “काउली उत्पादन गर्दासम्म लागत खर्चनै प्रतिकिलो रु २० सम्म पुगेको छ । लागत खर्चनै नउठ्ने गरी बजारमा घाटा खाएर काउली बेच्नुपरेको छ ।”
सिँचाइ, मलखाद, कीटनाशक, गोडाइ, जोताइ र मजदूरको खर्च जोड्दा लागत खर्च निकै बढी हुने भए पनि थोरै मूल्यमा बेच्नुपर्दा घाटा लागेको उनले बताए । “विगत वर्षमा व्यापारी उत्पादित काउलीलगायत तरकारी खरिद गर्न गाउँसम्म नै आउँथे”, अर्का काउली उत्पादनमा लागेका किसान वसन्ती चौधरीले भनिन्, “हाल व्यापारी आएका छैनन् । खेतमा धेरै काउली लगाएका छौँ । बजारमा लैजाँदा थोरै मूल्यमा बिक्री गर्नुपरेको छ । ढुवानीका साधानको व्यवस्था मिलाउन नसक्दासमेत खेतमा काउली बिग्रने अवस्थामा पुगेको छ ।”
ढुवानीका साधानको अभाव र थोरै मूल्यमा काउली बिक्री गर्नुपर्ने अवस्थाले निकै निराश भएको उनले बताए ।