
विराटनगर, ११ माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् पुनःस्थापना एकसूत्रीय माग राखी जनता समक्ष गएको बताएका छन् । गुराँस पुस्तकालय विराटनगर बरगाछीद्वारा प्रकाशित ‘बरगाछी’ को १६ अङ्क मुक्तिप्रसाद यदुनाथ चापागाईं विशेषाङ्कको आइतबार लोकार्पण गर्दै उनले यस्ताे बताएका हुन् ।
कांग्रेस प्रजातन्त्रको रक्षा र लोकतन्त्रको पहरेदारको हैसियतले पुनःस्थापना मात्र विरोधको मुद्दा लिएर सडक आन्दोलन गरिएको धारणा राख्दै वरिष्ठ नेता पौडेलले जनताले ठूलो त्याग, बलिदानबाट निर्माण भएको संविधान भत्काउन नदिन पार्टीले सडक सङ्घर्ष आन्दोलन गरेको प्रष्ट पारे ।
नेता पौडेलले ‘पार्टी स्वतन्त्र समाज, समावेशीता र महिला अधिकारमा अग्रणी रहेको छ’ भन्दै जनताको, चित्त दुखाएर होइन मन जितेर मात्र निर्वाचनमा जानु पर्नेमा जोड दिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल, डा डिला सङ्ग्रौला र गुरु घिमिरे संविधान र लोकतन्त्र रक्षाका लागि सडक संघर्ष अझ विस्तार र बृहत गर्नुपर्ने विचार व्यक्त गरे ।
पुस्तकालयका अध्यक्ष दीपक चापागाईँ, प्रदेशसभा सदस्य केदार कार्की, प्राज्ञ दधिराज सुवेदी, कविराज न्यौपाने, यदु विष्ट, उद्धव कोइरालालगायतले पुस्तक १०४ वर्षे राणा शासनकाल अन्त्यका लागि गरिएकोे आन्दोलनको एतिहासिक ग्रन्थ हुनुका साथै विसं २००७ क्रान्तिको दस्तावेज रहेको विचार व्यक्त गरे ।