
विराटनगर, ११ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आज वैवाहिक बन्धनमा बाँधिएका छन् । मुख्यमन्त्री राईले आज सन् २०१८ की ‘मिस मंगोल नेपाल’ की विजेता ज्याङ्मु शेर्पासँग विवाह गरेका हुन् । मुख्यमन्त्री राई र शेर्पाबीचको उमेर अन्तर करिब २७ वर्ष छ । उनीहरुकाे विवाह काठमाडौंको नक्सालस्थित एक पार्टी प्यालेसमा भएकाे हो ।
विवाह समारोहमा आफन्त र सीमित राजनीतिज्ञ मात्र उपस्थित थिए । उनकाे बिहेमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, पर्यटनमन्त्री भानुभक्त ढकाललगायतकाे उपस्थिति रहेकाे थियो । ओलीलगायत सबैले राई दम्पतीलाई प्रधानमन्त्रीको बधाई तथा शुभकामना दिएका थिए ।
संखुवासभा पुर्ख्यौली घर भएकी ज्याङमु काठमाडौंमा बस्दै आएकी थिइन् । मुख्यमन्त्री राई भने भोजपुरबाट तत्कालीन नेकपा एमालेको राजनीति गर्दै आएका थिए । २०५६ सालमा भोजपुरबाट तत्कालीन नेकपा एमालेबाट सांसद बनेका राई त्यसयता लगातार राजनीतिमा छन् ।
एमालेको जिल्ला सचिव, अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पोलिटब्युरो सदस्य र संघीय सरकारको मन्त्री तथा मुख्यमन्त्री भएका हुन् । राई ओली पक्षीय नेकपामा छन् ।