
विराटनगर, ११ माघ । जाडोमा धेरैजसोलाई रुघाखोकीले सताउन थाल्छ । जाडाेकाे बेलामा हामी जति सजग बन्न सक्यो, त्यति नै हाम्रो स्वास्थ्य र शरीरका लागि राम्रो हो । सतर्कता अपनाउन सकिएन भने जाडो महिनामा नाकबाट पानी बग्ने, नाक बन्द हुने, घाँटी खसखसाउने, खोकी लाग्नेलगायतका समस्या देखापर्छ । यो क्रम बढेमा ज्वरो नै पनि आउँछ र एन्टिबायोटिक नै चलाएर अस्पताल भर्ना भएर बस्नुपर्ने स्थिती नआउला भन्न सकिँदैन ।
जाडाेमा विशेषगरी बालबालिका, बृद्ध र महिलाहरुमा सर्दीले बढी सताउने गर्छ । यस समयमा आफ्नो स्वास्थ्यमा ध्यान पुर्याउन सकिएन भने मानिसको ज्यान पनि जान सक्छ । त्यसैले यस समयमा आफूलाई जतिसक्दो चिसोबाट जोगाउनु पर्छ । सर्दी लागेको समयमा लापरवाही गरियो भने पछि हामीलाई निमोनियाले सताउने गर्छ । यस समयमा स्वास्थ्यमा देखिने कुनै पनि प्रकारका समस्यालाई सामान्य रुपमा लिनु हुदैन ।
जाडोको समयमा आफ्नो स्वास्थ्यको आफैँ हेरविचार गर्न जरुरी छ । हामी सबैको भान्छामा हुने अदुवा जाडो महिनाका लागि निकै उपयोगी हुन्छ । अदुवाको टुक्राको रस २० मिलीदेखि ३० मिलीसम्म दिनमा तीन पटक पिउने गर्नाले शरीरमा सर्दी लाग्दैन ।
यस्तै एक चम्चा प्याजको रसमा त्यति नै मात्राको मह मिसाएर दिनहुँ तीनपटकसम्म खाने गर्नाले पनि चिसो लाग्नबाट बच्न सकिन्छ । जाडाेमा प्याज शरीरका लागि निकै राम्रो हुन्छ । यसैगरी दश ग्राम लसुनलाई एक कप दूधमा उमालेर साँझमा सुत्नेबेलामा वा खाजा खानुभन्दा अघि सेवन गर्नाले पनि हाम्रो शरीरलाई फाइदा गर्छ ।
जाडो मौसममा टाउको पनि निकै दुख्छ । तर बेसार र सौंठको धुलोको लेप बनाएर टाउकोमा लगाउर्ने गर्नाले टाउको दुखाईलाई आराम मिल्छ । जाडोमा मरिचको महत्व पनि निकै हुन्छ । कालो मरिच डढाएर धुँवा सुँघ्नाले बन्द भएको नाक खुल्छ ।
जाडो मौसममा कतिपयलाई घाँटीको खसखस अर्थात् सुक्खा खोकीले निकै सताउँछ । यस्तो भएमा एक गिलास तातो पानीमा १ चिम्टी खाने सोडा र १ चिम्टी नुन मिसाएर दिनमा दुईपटक पिउने र सुत्ने समयमा मुख कुल्ला गर्नाले घाँटीको खसखसबाट आराम मिल्छ ।
अलिकति अदुवा, अजवाइन, ल्वाङ, कालो मरिच, मेथी, तुलसी र पुदिनाको पातलाई मिलाएर दिनमा दुइपटक सेवन गर्नाले जाडो मौसममा शरीरलाई आराम मिल्छ । यी सबै उपायहरु समस्या नभएमा पनि गर्नुपर्छ । सम्भव भएसम्मका यस्ता घरेलु उपाय अपनाएमा अस्पतालमा तथा औषधीमा हुने ठूलो खर्चलाई रोक्न सकिन्छ । साथै सानो समस्यालाई पनि जटिल बन्न नदिन मद्दत पुग्दछ ।
चिसोबाट बच्न यी कुराहरूमा ध्यान दिनुपर्छ :
-न्यानो कपडा लागाउने ।
-टाउको र हातखुट्टालाई तातो पार्नुपर्छ ।
-तोरीको तेलले शरीर तथा हातखुट्टा मालिस गर्ने ।
-तातो, पोसिलो तथा झोलिलो खाना खाने ।
-चिसोबाट बच्न दुधमा मरिच र बेसार हालेर खाने ।
-चिसो लाग्न नदिन अदुवा र विरे नुन हालेर पानी उमालेर पिउने ।
-नियमित तातो पानी खाने ।