२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

तनहुँ, १३ माघ । संस्कृत शिक्षा ब्राह्मण समुदायले मात्रै अध्ययन गर्नुपर्छ भन्ने परम्परागत मान्यता विस्तारै तोडिँदै गएको छ । संस्कृत शिक्षाप्रति अन्य समुदाय र धर्मावलम्बीका विद्यार्थीले पनि रुचि राख्न थालेका छन् । तनहुँको सदरमुकाम दमौलीस्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा संस्कृत शिक्षा अध्ययन गर्नेमा ब्राह्मणभन्दा अन्य समुदायका विद्यार्थी धेरै छन् ।

विद्यालयमा मुस्लिम समुदायका विद्यार्थीको आकर्षण बढ्दै गएको छ । मुस्लिम समुदायका ३५ विद्यार्थीले संस्कृत पढ्दै गरेको विद्यालयका प्रधानाध्यापक तोयानाथ निरौलाले जानकारी दिए । मुस्लिमका अतिरिक्त बौद्ध तथा इसाई धर्मावलम्बी विद्यार्थीको सङ्ख्या पनि बढ्दै गएको विद्यालयले जनाएको छ ।

विद्यालयका अनुसार विद्यालयमा २८१ जना विद्यार्थी छन् । यहाँ ९५ प्रतिशत दलित तथा जनजाति विद्यार्थीले अध्ययन गर्ने गरेको प्रधानाध्यापक निरौलाले जानकारी दिए ।  संस्कृत शिक्षा समयानुकूल आवश्यक छ भन्ने बुझेर सबै धर्मावलम्बी अध्ययनका लागि आएको जानकारी उनले दिए । यस विद्यालयमा संस्कृतको भाषा, व्याकरण, कर्मकाण्ड र आयुर्वेद विषयमा पढाइ हुन्छ ।

बारा जिल्ला स्थायी घर भई हाल दमौलीमा बस्ने कक्षा १० अध्ययन गर्ने मुस्लिम समुदायकी रुक्सान खातुनले संस्कृत शिक्षा जीवनका लागि अपरिहार्य भन्ने ठानेर कक्षा १ देखि नै अध्ययन गरेको बताइन् । उनले भनिन्, “भविष्यमा नर्स बन्ने सपना छ तर जीवनका लागि संस्कृत शिक्षा सिक्न पनि जरुरी छ भन्ने ठानेर पढेकी हुँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!