
टीकापुर, १३ माघ । छोटो समयमा राम्रो आम्दानी हुने कृषि पेशाअन्तर्गत तरकारीको बेर्ना उत्पादन पनि हो । तरकारीका बेर्ना उत्पादनमा भविष्य देखेपछि यसमा किसानको आकर्षण बढ्दै गएको छ । कैलालीको टीकापुर–१ वनगाउँ ज्ञानीटोलमा कृष्णामती चौधरीको आरती बेर्ना नर्सरी उत्पादन फार्म छ । यहाँ चार कठ्ठा क्षेत्रफलमा प्याजको बेर्ना उत्पादन गरी सोही स्थानबाट बिक्री गरिन्छ । कृष्णामतीलाई आजभोलि प्याजको बेर्ना बेच्न भ्याइनभ्याइ छ । उनले अन्य तरकारीको बेर्नासँगै प्याजको बेर्ना बेचिरहेकीछन् ।
व्यावसायिकरूपमा बेर्ना उत्पादन गर्ने उनले अहिले दैनिक नर्सरीबाटै रु २५० प्रतिकिलोमा बेर्ना बेचिरहेकी छन् । वनगाउँ र घियागाउँका दुई स्थानमा गरी सात कठ्ठा क्षेत्रफलमा प्याजको बेर्ना उत्पादन गरिरहेकी छन् । अहिलेसम्म करिब ३० क्विन्टल प्याजको बेर्ना बेचिसकेकी छन् । कृष्णामतीले यो सिजनमा रु सात लाख ५० हजारका बेर्ना बिक्री गरेकी छन् ।
तरकारी खेतीभन्दा बेर्ना बिक्रीमा आम्दानी देखेपछि उनले बेर्ना उत्पादन रोजेकी हुन् । कृष्णामतीजस्तै अर्की महिला सुभद्रा चौधरीले पनि यतिखेर प्याजका बेर्ना बेचेर राम्रो कमाइ गरिरहेकी छन् । उनले पाँच कठ्ठा जग्गामा बेर्ना उत्पादन गरेकी छन् । उनको बारीमै बेर्ना किन्ने ग्राहक पुग्छन् । थोरै जमिनमा तरकारी खेती गर्नेले बेर्ना किनेर लगाउँछन् । थोरै बारीमा खेती गर्नेका लागि बेर्ना किनेर लगाउन सजिलो हुन्छ । कृष्णामतीको बारीमा प्याजको बेर्ना किन्न गएकी बन्दना जैशीले गाउँमै बेर्ना पाएपछि सजिलो भएको बताइन् ।
विगतका वर्षमा सहज र सस्तोरूपमा सीमा नाकाबाट प्याजको बीउ नेपाली बजारमा आउने गर्दथ्यो तर यस वर्ष सीमा नाकाबाट तरकारी बेर्ना आउन पाएका छैनन् । यसले नेपाली उत्पादकले बजार पाएको किसान बताउँछन् । टीकापुर नगरपालिका कृषि शाखाले पनि बीउ उत्पादनमा लागेका किसानलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।