२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, १३ माघ । तारकेश्वर नगरपालिका–७ मा विद्यार्थी विद्यालय मात्र जाँदैनन् कृषि फार्ममा गएर खेती गर्न पनि सिक्छन् । मनमैजुस्थित एन्जल हर्ट बोर्डिङ स्कुलका कक्षा ८ का ८२ जना विद्यार्थी प्रयोगात्मक कक्षाका लागि मल्टिपल डेभलपमेन्ट सर्भिस (एमडीएस एग्रो फार्म)मा जाने गरेका छन् ।

रामप्रसाद जुगजालीको अध्यक्षतामा १५ जनाको समूहले भत्केको पार्टीमा सामूहिक कृषि फार्म सञ्चालन गरी अर्गानिक तरकारी फलफूलको उत्पादनसँगै स्कुलहरूसँग समन्वय गरी विद्यार्थीलाई खेतीबारे सिकाउने अभियान थालेको हो ।

फार्मका निर्देशक होमप्रसाद भुसालले स्कुल पढ्दै खेती गर्ने २५ दिनको प्रयोगात्मक कक्षामा पहिलो चरणमा यी विद्यार्थी आएको बताए । साताको छ दिनको कक्षामा एक दिन प्रयोगात्मक कक्षा हुन्छ भने २५ दिनको सिकाइमा तरकारीका लागि जमिन तयार गर्नेदेखि फलेर पकाएर खानेसम्मको तालिम दिइन्छ ।

दुई वर्षअघि ३५ रोपनी जग्गा भाडामा लिएर सुरु भएको उक्त एमडीएस एग्रो फार्ममा विद्यार्थीले काँक्रो, लौका, फर्सी, तितेकरेलालगायत १५ थरी मौसमी तरकारी रोप्न, जमिन तयार गर्ने, बीउ रोप्नेबारे सिक्दै छन् । साथै रोग/कीरा लागेमा पनि स्वास्थ्यको दृष्टिकोणले उत्तम मानिएको अर्गानिक विधिबाट उपचार गर्न समेत सिक्नेछन् ।
सो स्कुलले छनोट गर्न पाउने ऐच्छिक विषयअन्तर्गत विद्यार्थीलाई प्रशिक्षणमा पठाए पनि यसको व्यावहारिक उपयोगिता देखेर यस विषयलाई अनिवार्य बनाउनुपर्नेबारे पनि छलफल भइरहेको निर्देशक भुसालले बताए ।

स्थानीय तहले पाठ्यक्रम बनाउने अधिकार पाएको अहिलेको सन्दर्भमा कृषिलाई प्राथमिकता दिएर पाठ्यक्रम तयार गरेर विद्यार्थीलाई यस्तो फार्ममा प्रयोगात्मक अभ्यासका लागि समन्वय गर्न सकिने सुझाव उनले दिए । पाठ्यक्रम तयार नभएको अवस्थामा पनि स्कुल छुट्टीको समयमा सो फार्ममा गएर जमिन तयार गर्ने, बीउ रोप्ने, त्यस बालीलाई असर गर्न सक्ने रोगबारे जानकारी लिन सक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!