
इलाम, १३ माघ । काेराेना महामारीपछि रोजगारीका अवसर खोज्दै इलाममा विभिन्न उद्योग तथा फर्म दर्ता गर्नेक्रम बढेको छ । जिल्लामा गत वर्षको तुलनामा चालू आर्थिक वर्ष २०७७/७८ को छ महिनामै फर्म दर्ताको सङ्ख्या निकै बढेको घरेलु तथा साना उद्योग कार्यालय इलामले जनाएको छ ।
चालू आवको साउनदेखि पुस मसान्तसम्ममा ६०४ उद्योग तथा फर्म दर्ता भएका छन् । कार्यालयको तथ्याङ्कअनुसार कृषितर्फ ४९६, उत्पादनमूलकतर्फ १८, निर्माणका ४१, पर्यटनमा २९, सेवामूलक १९ र अन्यमा एक उद्योग दर्ता भएका छन् । यी उद्योग र फर्मको लगानी ९४ करोड रुपियाँ रहेको कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्षमा भने ४६५ उद्योग दर्ता भएका थिए । कृषितर्फ ३९८, पर्यटनमूलक १०, निर्माणमा १७, सेवामूलक ३० र उत्पादनमूलकमा १० गरी ५१ करोड रुपियाँको पुँजीमा ती फर्म र उद्योग दर्ता भएका थिए ।
यो वर्ष भने विदेशबाट फर्किएका युवा र महिलाले सङ्ख्यात्मक रूपमा बढी भएको कार्यालयका कर्मचारी युवराज घोसाईंले बताए । घोसाईंका अनुसार कृषितर्फ बाख्रापालन, बङ्गुर पालन, तरकारी खेतीलगायतका क्षेत्रमा उद्योग दर्ता भएका छन् । उत्पादनमूलकमा दालमोड उद्योग, ग्रिल, गुडिया बनाउने जस्ता उद्योग दर्ता भएका छन् । यस्तै सेवामूलकमा सिलाइ कटाइ, ब्युटीपार्लर जस्ता उद्योग दर्ता भएको जनाइएको छ ।
कोभिड–१९ को सङ्क्रमण बढेसँगै रोजगारी गुमेपछि धेरै युवा स्वरोजगार बन्न उद्योग दर्ता गरिरहेको पाइएको घोसाईंले बताए । महिलाका नाममा पुँजीको ५० प्रतिशत छुट र बैङ्कहरूले लगानी तीन र पाँच प्रतिशत ब्याजदरमा ऋणको व्यवस्था गरेकाले महिलाका नाममा अझ बढी उद्योग दर्ता भएको बताइएको छ ।
पछिल्लो समय आप्रवासी कामदारका लागि जिल्लामा सुरक्षित आप्रवासन परियोजनाले पनि काम गर्दै आएको छ । परियोजना र मानव अधिकार मञ्च नेपालले अलग–अलग पालिकाहरूमा युवाहरूलाई स्वरोजगार बनाउन पशुपालन, कुखुरापालन, बङ्गुरपालन, अन्य घरेलु उद्योग तथा व्यवसायका लागि तालिमसमेत दिइरहेको छ ।
परियोजनाका जिल्ला संयोजक ईश्वरी तामाङले अहिले धेरै युवाले स्वरोजागर बन्न विभिन्न उद्योग व्यवसाय सुरु गरेको बताइन् ।