
बराहक्षेत्र, १३ माघ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ सूर्यकुण्डमा एक सय ४६ ग्रामको स्ट्रबेरी फलेपछि नेपालकै सबैभन्दा ठूलो भएको दाबी गरिएको छ । छ जनाको एक समूहले सञ्चालन गरेको एक कृषि फर्ममा एक सय ४६ ग्रामको स्ट्रबेरी फलेपछि सञ्चालकमध्येका एक अर्जुन कुलुङ राईले नेपालकै सबैभन्दा ठूलो स्ट्रबेरी फलेको दाबी गरेका हुन् ।
पाँच जना स्थानीय र काठमाडौं घर भइ चितवन बस्ने एक जनाको समूहले करिब डेढ वर्षअघिदेखि सुनसरी जिल्लाकै विकट क्षेत्र सूर्यकुण्डमा व्यवसायिक स्ट्रवेरी खेती गर्दैआएको छ । चियावारी एग्रो टुरिजम एन्ड रिसोर्स सेन्टरमा उत्पादित स्ट्रबेरी नेपालकै ठूलो दाबी गरिएको हो ।
‘पहिलो सिजन ७५ ग्रामको फलेको थियो । यसै सिजनको सुरुआतमा ९० ग्रामको स्ट्रबेरी टिपेको थिएँ । तर, आज टिपेको स्ट्रबेरी १ सय ४६ ग्रामको थियो । यो हाम्रो फर्मको मात्र होइन नेपालकै ठूलो हो । धरानमा देखाएको थिएँ, अरूले पनि यसलाई नेपालकै ठूलो भएको बताए’, उनले ग्रामीणखबर डटकमसँग भने ।
‘धरान कृषि बजारमा लिएर गएको थिएँ । सबै जना चकित भए । मलाई लाग्छ यो देशकै ठूलो हो । सिजनअनुसार उत्पादन पनि बढ्दो छ । र, ठूला–ठूला स्ट्रबेरी पनि फल्दैछन्,’ उनले थपे । उनका अनुसार बुधबार उद्घाटन हुन लागेको मिनी कोल्ड स्टोरमा यो स्ट्रेबरी प्रदर्शनीमा राखिने छ ।
हालसम्म एक क्वीन्टलजति बिक्री भइसकेको बताउँदै उनले भने, ‘अझै उत्पादन भइरहेको छ । तर, मागअनुसारको उत्पान गर्न सकिएको छैन ।’
सुनसरीको चतरा बजारदेखि करिब १३ किलोमिटर उत्तरतर्फ हालै मात्र सवारी साधन पुगेको सो क्षेत्रमा अमेरिकामा कृषिमा विद्यावारिधी (पिएचडी) गरेर नेपाल फर्किएका ससन देवकोटा, अर्जुन कुलुङ राई, तपेन्द्र राई, गंगाराम राई, भीमबहादुर राई र दीपक राई गरी पाँच जनाले चियावारी एग्रो टुरिज्म एण्ड रिसर्च सेन्टर प्रा.लि सञ्चालन गरिरहेका छन् ।
उनीहरूले स्थानीय साथीहरूको एक विघा जग्गा लिजमा लिएर १५ लाखको लगानी गरी स्ट्रवेरी खेती थालेका हुन् । पहिलो सिजन दुई–तीन कठ्ठामा लगाएको स्ट्रबेरी खेतीमा राम्रो आम्दानी देखेपछि यसको विस्तार गरी एक विघामा स्ट्रवेरी लगाएका छन् ।
हाल उनीहरूको बजार भनेको सुनसरीको धरान उपमहानगरपालिका हो । त्यसबाहेक त्यहाँ आउने आन्तरिक पर्यटकले पनि स्ट्रवेरीको माग गर्ने अर्जुनले बताए । होलसेलमा बेच्नुपर्दा प्रतिकिलो ६०० रुपैयाँमा बिक्री हुँदै आएको स्ट्रवेरी खुद्रा मूल्यमा बेच्नुपर्दा ६५० प्रतिकिलो बिक्री हुन्छ ।
स्ट्रवेरी मंसिर महिनाको दोस्रो साताबाट पाक्न थाल्छ । मंसिरबाट चैत महिनासम्म उनीहरूलाई धमाधम नै हुन्छ । टिप्ने काममा मान्छे लगाए पनि झारपात केलाउने गोड्नेलगायत अरू काम आफैं गर्ने उनको भनाइ छ ।