
विराटनगर, १४ माघ । नेपालमा बुधबारबाट देशव्यापी रूपमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान सुरु हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप अभियानको एक विशेष समारोहबीच शुभारम्भ गर्दैछन् ।
खोप पहिलो चरणमा चिकित्सक, नर्स तथा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्ति, एम्बुलेन्स चालक, सरसफाइ गर्ने व्यक्तिलाई लगाइनेछ । केही दिनअघि भारत सरकारको अनुदानमा १० लाख डोज खोप नेपाल ल्याइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले चार लाख ३० हजारलाई पहिलो चरणमा खोप लगाइने जानकारी दिए ।
प्रवक्ता गौतमले कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ खोप सातै प्रदेशमा पहिलो चरणमा लगाइने र पछि पुनः खोप आएपछि समुदायस्तरमा लगाइने बताए ।
प्रदेश १ मा ३५ हजार स्वास्थ्यकर्मीलाई खोप
कोभिड १९ उपचार केन्द्रमा मुख्यमन्त्री शेरधन राईले भ्याक्सिन लगाउने अभियानको शुभारम्भ गर्दैछन् । बिहान साढे ९ बजे भ्याक्सिन लगाइने कार्यको शुभारम्भ गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको कोसी अस्पताल, नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज र रंगेली अस्पताल गरी चार स्थानमा कोभिसिल्ड भ्याक्सिन लगाउने स्थान तोकिएको स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
प्रदेश नं १ मा बिरामीको सेवामा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सफाइ कर्मचारी गरी ३५ हजारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइँदैछ । प्रदेशअन्तर्गतका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका गरी ३४ हजार ८५१ र ७२५ सरसफाइ कर्मचारी गरी कूल ३५ हजार ५७६ जनालाई कोभिड–१९ विरुद्धको खोप लगाइने छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले पहिलो चरणमा प्रदेशमा पठाइएको नौ हजार ६०० भायल मात्रा खोप प्राप्त भएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका प्रशासकीय अधिकृत काशीराज पराजुलीले बताए ।
प्रदेशका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमा ताप्लेजुङका १४ हजार तीन, धनकुटाका ८३१, उदयपुरका एक हजार २३७, भोजपुरका एक हजार १७६, मोरङका १२ हजार ५६, इलामका एक हजार ६९०, ओखलढुङ्गाका एक हजार ३६६, खोटाङका एक हजार ६००, झापाका चार हजार ९७७, तेह्रथुमका ७२३, सङ्खुवासभाका ९४९, सोलुका ६८६, सुनसरीका पाँच हजार २३३ र पाँचथरमा ९२४ लाई खोप लगाइने भएको छ ।