
विराटनगर, १४ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका प्रदेश नं १ इञ्चार्ज भीम आचार्यले प्रदेशसभामा पेश भएको मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पारित हुने बताएका छन् । बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश सरकार अल्पमतमा परिसकेको हुनाले अविश्वास पारित हुने दाबी गरे ।
इञ्चार्ज आचार्यले संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेता तथा प्रदेश सदस्यसँग छलफल भइरहेको जानकारी दिएका छन् । अविश्वास प्रस्ताव पारित भएपछि नयाँ सरकार गठनबारे छलफल अघि बढ्ने चर्चा गर्दै उनले भने, ‘अहिले सम्पूर्ण ध्यान अविश्वास प्रस्ताव पारित गर्नेमा केन्द्रित रहेको छ ।’
नेता आचार्यले सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको निर्णय गर्ने विश्वास व्यक्त गरे । उनले यही माघ १६ गते विराटनगरमा आयोजना गरिन लागिएको विरोधसभा भव्य हुने बताए । विरोधसभामा ६० हजारभन्दा बढी जनसहभागिता रहने दाबी पूर्वमन्त्री आचार्यले गरे ।