
विराटनगर, १८ माघ । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–२ मा आगलागी हुँदा एक बालक र एक बालिकाको ज्यान गएको छ । स्थानीयवासी टेकबहादुर निरौलाको मतानमा शनिबार दिउँसो करिब २ बजे आगलागी हुँदा उनीहरुको मृत्यु भएको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ ।
आगलागीमा परी ज्यान गुमाउनेमा टेकबहादुरका सात वर्षीय नाती सुगम र चार वर्षीया नतिनी सुदिष्मा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।
यता, आगो ताप्नेक्रममा शरीर जलेर गम्भीर घाइते भएकी खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित धनमुढाकी एक सय एक वर्षीया हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको छ ।
गाईवस्तुलाई खोले पकाउन बालिएको आगो ताप्ने क्रममा शुक्रबार बिहान लुगामा आगो सल्किएर शरीर नै जलेपछि गम्भीर घाइते भएकी हिमादेवीको उपचारको क्रममा मृत्यु भएको हो ।
शरीरमा लगाएको लुगाबाट सल्किएको आगोले जलेर गम्भीर घाइते भएकी हिमादेवीको घरैमा स्वास्थ्यकर्मी झिकाएर उपचार गराउने क्रममा मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद फुयाँलले बताए । मृतक हिमादेवी सो गाउँपालिकाभरिकै सबैभन्दा ज्येष्ठ नागरिक थिइन् ।