२०८१ चैत्र १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाैं, १८ माघ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाउन सर्वसाधारणले लामो समय प्रतीक्षा गर्नुपर्ने देखिएको छ । कोरोनाभाइरस महामारीका कारण १० महिना जति रोकिएकाे लाइसेन्स दिने प्रक्रिया खुला भएपछि करिब साढे दुई लाख सर्वसाधारणले आवेदन दिइसकेका छन् । त्यसैकारण वैशाखसम्मका लागि परीक्षा दिने मिति सकिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

अझ कतिपय कार्यालयहरूमा त जेठ महिनाको अन्त्यसम्मको मिति सकिएको अवस्था रहेकाे उनकाे भनाइ छ । हाल देशैभर करिब ७ देखि ८ लाख जना सवारी चालक अनुमतिको प्रतीक्षामा रहेको उनले बताए । उनले भने, “हाम्रोबाट मासिक करिब ७०,५०० सवारी चालक अनुमति पत्र जाने गरेको छ। त्यसलाई आधार बनाउँदा करिब ७ देखि ८ लाख सर्वसाधारण प्रतीक्षामा छन् भनिएको हो । त्यसमध्ये दुई लाखभन्दा बढीले फारम भरिसकेको अवस्था छ। मलाई लाग्छ अहिले भर्नेहरूले ६ – ७ महिनापछि पालो पाउनुहुन्छ होला ।”

विभागका अनुसार सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि हुने परीक्षामा नेपाल विश्वमै कम उत्तीर्ण दर भएको देशमा पर्छ । पहिलो पटकको प्रयासमा नेपालमा जम्मा २५ देखि ३० प्रतिशत मात्रै उत्तीर्ण हुने गरेको अधिकारीहरू बताउँछन्। त्यस्तो प्रतिशत अन्य देशहरूमा ७० प्रतिशतसम्म रहेको उनीहरूको भनाइ छ ।मापदण्ड धेरै कडा बनाउँदा चार-पाँच वर्ष सडकमै सवारी हाँकेका मानिसहरू समेत अनुत्तीर्ण हुने अवस्था देखिएको विभागले जनाएको छ ।

“त्यसकारण प्रश्न कडा गर्नेभन्दा पनि सडकमा जान्नुपर्ने कुराहरू थाहा दिने गरी वार्षिक सोधिने प्रश्नहरूको सँगालो बनाउने छौँ र त्यसलाई प्रकाशन गर्ने छौँ । जनताले धेरै भन्दा धेरै जानुन् भन्ने हाम्रो उद्देश्य हो । यसरी परीक्षा दिँदा परीक्षार्थीले कम्तीमा ८० अङ्क ल्याउनुपर्ने प्रस्ताव गरिएको छ,” हमालले भने । हाल लिखितमा ५० प्रतिशत अङ्क ल्याए उत्तीर्ण हुने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!