२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               
विराटनगर, १८ माघ । कुखुराको घर बनाउँदा तोकिएको मापदण्ड अनुसार हुनुपर्छ । मापदण्डविपरीत घर बनाउँदा कुखुरालाई असजिलो र तनाव उत्पन्न हुने भएकाले उत्पादनमा समेत ह्रास आउँछ । यसकारण कुखुराको घर बनाउँदा गाउँबस्तीबाट अलिक टाढा एकान्त ठाउँ रोज्नुपर्छ । जहाँ चारैतिरबाट हावा तथा घामको प्रकाश पुगोस् । सकभर खेतीयोग्य नभएर खेर गइरहेको, पानी नजम्ने र अग्लो जमिनमा कुखुराको घर बनाउन उपयुक्त हुन्छ ।
यातायात सुविधाको साथसाथै बिजुली र पानीको प्रबन्ध भएकाे ठाउँमा कुखुराको घर बनाउनुपर्छ । यसले गर्दा कुखुरा र अण्डा बिक्रिका लागि यातायात र नजिक बजार सुविधा हुँदा उत्पादन बिक्रिमा सहजता हुन्छ ।
कुखुराको घर निर्माण गर्दा प्रयोग गर्ने सामाग्री स्थानीयरुपमा उपलब्ध सामाग्री प्रयोग गर्दा घर निर्माण लागत कम पर्न जान्छ । साथै कुखुराको घर निर्माणमा प्रयोग गर्ने सामाग्री चिसो र गर्मीबाट बचाउने खालको हुनुपर्छ । कुखुराको घर निर्माण गर्ने ठाउँमा घर निर्माण पहिला नै घेरबारको राम्रो व्यवस्था गर्नुपर्छ । कुखुरा घरको लम्बाइ बढीमा २०० फिटसम्म र चौडाइ २० फिटसम्मको गर्नु पर्दछ ।
घरको चारैतिर लगाएको बार र गेटबाट कुकुर, बिरालो तथा चारैतिरबाट चरा, मुसा तथा अन्य बाहिरी जनावर नछिर्ने गरि जाली लगाउनु पर्छ । घरको चारैतिर पेटी बनाउनु पर्छ । घरको चारैतिर भएको खाल्डाखुल्डी पुरी झार-जङ्गल सफा गर्नुपर्छ ।
घरको लम्बाइ पूर्व-पश्चिम र चौडाइ उत्तर-दक्षिण मोहडाको हुनुपर्छ । भुइँबाट एक फुट गारो उठाएर त्यसभन्दा माथि चरा नछिर्नेखालको उत्तर-दक्षिणतर्फ ६ फिट जाली लगाउनुको साथै पूर्व-पश्चिम झ्यालसहितको पूरा पर्खाल लगाउनु पर्छ । घरको छाना भित्ताबाट अझै २.५ फिट बाहिर सिधै घाम वा पानीको बाछिटा नपर्ने गरि निकालिएको हुनुपर्छ । घरको भुइँ सकभर पक्काको बनाउनु राम्रो हुन्छ । एउटा घरबाट अर्को घरको दुरी कम्तिमा ५० फिट हुनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!