
रविन पुरी
सरकारले गत पुसमा राजपत्रमा सूचना निकाल्दै कृषिमा विदेशी लगानी ल्याउने निर्णय गरेको छ। उक्त निर्णयको सबैजसो कृषि व्यवसायी र उद्योगीहरुले विरोध गर्दै आएका छन्। सरकारले विदेशी लगानी खुला गरेका कृषि क्षेत्रका व्यवसायी एकै ठाउँमा उभिएर सरकारलाई कृषिमा विदेशी लगानी आवश्यक छैन भनेर घचघच्याइ रहेका छौं। यस क्षेत्रमा लागेका सबैले कृषि क्षेत्रमा विदेशी लगानीको आवश्यकता पर्दैन भनिरहेका छन। विशेषगरी नेपालको पोल्ट्री क्षेत्रमा त विदेशी लगानीको आवश्यकता नै छैन।
नेपाल कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनिसकेको छ। पोल्ट्री क्षेत्रमा पर्याप्त मात्रामा स्वदेशी लगानी छ। यसैगरी, विदेशी नयाँ-नयाँ प्रविधि पनि स्वदेशी लगानीकर्ताले नै भित्र्याइसकेका छन्। पुँजी अभाव भएर नयाँ प्रविधि भित्र्याउन नसकेर उत्पादकत्व बढाउन नसकेको अवस्थामा मात्रै विदेशी लगानी आवश्यक पर्छ। तर, पोल्ट्री क्षेत्रमा त्यस्तो अवस्था छैन।
नेपालमा दाना उद्योगहरुले कम्प्युटर सिष्टमबाट दाना उत्पादन गर्न थालिसकेका छन। एउटै दाना उद्योगमा ३०-४० करोडसम्मको लगानी छ। कुखुरा पाल्ने फार्म पनि अत्याधुनिक व्यवस्थासहित खुलेका छन्।
पोल्ट्री क्षेत्रमा विदेशमा बनेका नयाँ प्रविधि सबै भित्रिसकेको अवस्था छ। आजभन्दा १५ वर्ष अगाडि नै नेपालमा कुखुराको मासुको मूल्य प्रतिकिलो तीनसय रुपैयाँ थियो। त्यही समयमा राँगाको मासुको मूल्य प्रतिकिलो दुइसय र खसीको मासुको मूल्य ६ सय रुपैयाँ हाराहारी थियो। तर, अहिले राँगाको मासुको मूल्य पाँचसय रुपैयाँ पुगेको छ। यस्तै, खसीको एकहजार दुईसय रुपैयाँ पुगेको छ। कुखुराको मासुको मूल्य अहिलेपनि १५ वर्षअघिकै अर्थात तीनसय रुपैयाँकै हाराहारीमा छ। १५ वर्षमा एउटै मूल्य कायम गर्न सक्नुको मुख्य कारण नै नयाँ प्रविधि भित्रनु हो। नयाँ प्रविधि नभित्रीएको भए डेढ दशकदेखी एउटै मूल्यमा उपभोक्ताले कुखुराको मासु पाउन सम्भव हुँदैनथ्यो।
नयाँ प्रविधि भित्र्याएर नै हामीले उत्पादन लागत घटाउन सक्यौं। हाल नेपालको पोल्ट्री व्यवसायमा डेढ खर्ब रुपैयाँभन्दा बढी लगानी आइसकेको छ। यसैगरी, दाना उद्योगमा ४० अर्ब रुपैयाँ बराबरको एकसय १८ वटा दाना उद्योग खुलेका छन। दिनमा ३५ सय मेट्रीक टन दाना चाहिनेमा आठहजार मेट्रीक टनसम्म उत्पादन गर्नसक्ने क्षमता छ।
नेपालको दाना उद्योगमा विदेशी लगानी भित्र्याएर निकासी गर्न पनि सम्भव छैन। किनकि दाना बनाउन चाहिने कच्चापदार्थ ( मकै र भटमास ) अर्बौं रुपैयाँको विदेशबाटै आयात हुँदै आएको छ।
यदि पोल्ट्री क्षेत्रमा कुखुराको मासु प्रशोधन गर्न विदेशी लगानी आउँछ भने हामी सबै त्यसलाई स्वीकार्छौं। कुनै एक स्थानमा प्रशोधन केन्द्र खोलेर दैनिक हजारौं कुखुरा मेसिनबाट प्रशोधन गर्न भन्दै कोही आउँछ भने हामी सहयोग गर्छौ। किनकि, त्यस्ता उद्योग खोल्दा अर्बौं रुपैयाँ लाग्छ। त्यसका लागि आवश्यक पर्ने प्रविधि र दक्ष जनशक्तिको हामीसँग अभाव छ। अण्डा प्रशोधन गर्ने र कुखुराको मासु प्रशोधन गर्ने बाहेकको अन्य कामका लागि नेपालको पोल्ट्री उद्योगमा विदेशी लगानी आवश्यक पर्दैन ।
पुरी नेपाल दाना उद्योग संघका अध्यक्षसमेत हुन्