विराटनगर, १३ फागुन । नेपालका लागि बजाज अटो लिमिटेड, भारतको आधिकारिक वितरक गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ तीन पाङ्ग्रे अटो ‘बजाज आरई बीएस सिक्स’ बजारमा ल्याएको छ ।
बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी हंसराज हुलासचन्द एन्ड कम्पनीले यो अटो नेपालमै पहिलोपल्ट बीएस भीआई इन्जिनमा फ्युल इन्जेक्स्नन (एफआई) प्रविधिमा आएको जनाएको छ । विराटनगरको आधिकारिक डिलर केशरीचन्द भवरलालका सेल्स म्यानेजर सुरेन्द्र कार्की पहिलेको बीएस फोर मोडल र हाल लञ्च भएको बीएस सिक्सबीच धेरै फरक रहेको बताउँछन् ।

‘दुुई पाङ्ग्रे साधनबाहेक एफआई प्रविधि तीन पाङ्ग्रेमा पहिलो पटक बजाज आरई बीएस सिक्समा मात्रै आएको हो’ दुुई मोडलबीचको फरक बताउँदै उनले थप भने, ‘त्यसबाहेक प्यासेन्जहरुका लागि ढोका, पछाडि हेर्ने ठूलो सिसा, ड्राइभरको आरामका लागि फुट रेस्ट, प्यासेन्जहरुलाई बाहिर हेर्न सकिने गरी डिजाइन गरिएको पछाडिको हुड, नयाँ ड्यास बोर्डमा एफएम तथा एमपीथ्री लगायत फिचर थप भएका छन् ।’

यस बाहेक धेरै हावा सर्कुलेट हुने गरी डिजाइन गरिएको इन्जिन कभर, अत्याधुनिक हेड लाइट बजारमा आएको बजाज आरई बीएस सिक्सका थप विशेषताहरु हुन् । अटोमटिभ रिसर्च एशोसिएशन अफ इण्डिया (एआरएआई) को परिक्षणमा प्रति लिटर ३० किलोमिटर माइलेज प्रदान गर्ने बजाज आरई बीएस सिक्सको बजार मूल्य पाँच लाख ६४ हजार नौ सय राखिएको छ ।
विगतमा बजाज आरईकै कम सिसिको मोडल आई रहेको भएपनि यस पटकबाट दुुई सय ३६ सिसिको नयाँ मोडल नेपालमा नयाँ लञ्च गरिएको केशरीचन्द भवरलालका प्रोपाइटर प्रशान्त तापेड बताउँछन् । कम्पनीका अनुसार बजाज अटोका नेपालभरीका डिलरहरुबाट बजाजको नयाँ आरई बीएस सिक्स मोडल एक्स्चेन्ज र फाइनान्स दुवैको सुविधा उपलब्ध रहेको छ ।




