सर्लाही, २१ फागुन । खुला सीमानाका कारण गुणस्तरहीन भारतीय अण्डा सस्तो मूल्यमा भित्रिन थालेपछी नेपालका अण्डा उत्पादक किसान मारमा परेका छन ।
भारतबाट लुकाइछिपाइ गुणस्तरहीन सेतो अण्डा बजारमा भित्रिन थालेपछी अण्डा उत्पादक किसान मारमा परेका हुन् ।
” सेतो अण्डाले बजार बिगार्यो। उस्तै देखिए पनि सेतो अण्डा यहाँ उत्पादन भएजस्तो हुँदै,।” अण्डा व्यवसायी सुभाष तिमल्सिना भन्छन् ” गुणस्तरहीन भारतीय सेतो अण्डा बजारमा छ्यापछ्याप्ती पाउन थालेपछी यहाँका वास्तविक किसान मारमा परेका छन ।”
भारतीय सेतो अण्डा नेपालको उत्पादनभन्दा सस्तो हुने भएकाले लुकाइछिपाइ ल्याई नेपाली बजारमा बिक्री वितरण गर्ने गरेका कारण आफूहरु मारमा परेको सर्लाहीका पोल्ट्री व्यवसायीको गुनासो छ ।
आफूहरुले पटक-पटक भारतीय अण्डाको आयात रोक्न माग गरेपनि स्थानीय प्रशासनले यसबारे चासो देखाएको छैन उनीहरुको भनाइ छ । भारतबाट भित्रिने पक्षीजन्य बस्तु नियन्त्रणका लागि आवश्यक पहल भइरहेको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी भुमेश्वर पोखरेलले जानकारी दिए । भारतबाट भित्रिने कुखुरा, चल्ला र अण्डामा रोक लगाउन सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई निर्देशन दिइसकेको उनले बताए ।
सर्लाहीको सीमावर्ती क्षेत्र मलङ्गवा, त्रिभुवननगर, पर्सा, संग्रामपुर, हरिपुर्वा, कौडेना, गोडैत, फूलपरासी, मधुवनगोठ, सिसौटलगायतका बजारमा भारतीय अण्डाको व्यापार फस्टाएको छ । स्वदेशी उत्पादन प्रबर्द्धनका लागि भारतबाट भित्रिने पक्षीजन्य बस्तु नियन्त्रण गर्नु आवश्यक रहेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी बताउँछन् ।




