काठमाडौं, २७ फागुन । सेयर बजार सुस्त बन्नेक्रम जारी छ । बुधबार पनि यसक्रमले निरन्तरता पाएको थियो । नेप्से सूचकका साथमा खरिद-बिक्री रकम पनि सुस्त बनेको छ । माथिल्लो विन्दुमा पुगेका बेला ट्रेडरहरुले नाफा बुक गरेपछि बजार केही प्रभावित भएको हो । बजारमा सेयर भाउहरु निरन्तर रुपमा सस्तो हुँदै गएको छ । भाउ सस्तो हुँदै गर्दा भ्यालू इन्भेष्टिङ गर्नेहरुले पनि अवसर खोजिरहेको अनुमान छ ।
यस्तै, ट्रेडरहरु पनि भाउ सस्तो हुन थालेपछि पुनः बजार प्रवेश गर्ने मौका हेरिरहेका हुन्छन् । यसर्थ, मूल्य सस्तो भएका बेला किन्ने सामान्य नियमले सर्वसाधारण लगानीकर्ताले पनि अनुसरण गर्न सके दीर्घकालमा लाभ लिनसक्ने सम्भावना धेरै हुने विश्लेषकहरु बताउँछन् । भाउ सस्तो हुँदै जाँदा क्रेता र बिक्रेताबीच मोलमोलाई बढी हुन थालेको छ ।
बिक्रेताहरुले पनि धेरै भाउ घटाएर दिन चाहिरहेका छैनन् । क्रेताहरु भने अझै घट्छ कि भन्ने प्रतीक्षामा रहँदा कारोबार रकम कम भएको छ । सेयर बजार सुस्त हुनुमा सिजनल प्रभाव पनि परेको देखिन्छ । यतिबेला अधिकांश सूचीकृत कम्पनीको साधारण सभा भइसकेको छ । धेरैले सभा सकेर सेयरधनीको खातामा लाभांश पनि पठाइसकेको छ । यसले पनि बजार केही सुस्त बनाउन सहयोग पुर्याएको हो ।
विश्लेषकहरुले अहिलेको अवस्थालाई ‘सिजनल प्रभाव’ पनि भनेका छन् । यो समयमा विगत वर्षहरुमा पनि बजार प्रभावित हुने गरेको थियो । अब केही समयपछि फेरि बजारमा विस्तारै सिजनल चहलपहल सुरु हुनेछ । विशेषगरी वैशाख–जेठपछि सिजन लागेको भन्ने चलन छ । असार–साउनमा त प्रायः वर्षहरुमा बजार राम्रोसँग बढ्ने गरेको विगतका उदाहरणहरु छन् ।
वियरिस बजारमा समेत यी समयमा चहलपहल बढ्ने गर्छ । यसर्थ, घटबढ बजारको सामान्य नियम हो । यसलाई लगानीकर्ताले सजिलै आत्मसात् गर्न सक्नुपर्छ । घटेको बजार फेरि बढ्छ भन्नेमा विश्वस्त हुन आवश्यक छ । आम लगानीकर्तामा धैर्यता पनि हुन जरुरी छ । नेप्से सूचक ३.४० अंकले घटेर २४५८.४८ विन्दुमा अडिएको छ । ४ अर्ब १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
७८ लाख १६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १३ मध्ये ७ वटा समूहको सूचक वृद्धि भएको छ । ट्रेडिङ, होटेल्स तथा पर्यटन लगायतका समूहमा बढी चमक आएको छ । ३ कम्पनीको भाउ ९% भन्दा बढीले वृद्धि भएको छ । ५५ करोड ७० लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नेपाल टेलिकम अग्रस्थानमा रहेको छ ।-नेपाली पैसाबाट




