पर्सा, २७ फागुन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थता र संसद्मा देखिएका बेथितीको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन् । बुधबार प्रेस सेन्टर पर्साले वीरगञ्जमा आयोजना गरेकाे पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभामा दलहरुबीच समन्वय भई प्रक्रिया सामान्य ढङ्गले अगाडि नबढे ताजा जनादेशमै जानुपर्छ भने ।
उनले भने, “निर्वाचनका लागि तयार हुन म आम मतदाता समक्ष आग्रह गर्दछु ।” पोखरेलले सर्वोच्च आदालतको फैसलाबाट उत्पन्न भएको वर्तमान राजनीतिक अवस्थाको सामना गर्दै एमाले र माओवादी केन्द्रका जिल्लादेखि केन्द्रसम्ममा नयाँ ढङ्गले पुनःएकता हुने धारणा व्यक्त गरे ।
उनले दलको नामबारे अदालतले दिएको फैसलाले दुवै पार्टीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा पुर्याए पनि दुवै पार्टीबीचको एकता र दुवै पार्टीका नेता कार्यकर्तालाई सम्मानजनक ढङ्गले व्यवस्थापन गर्ने सोचका साथ नेकपा एमाले अगाडि बढेको जानकारी दिए ।






