विराटनगर, २७ फागुन । विराटनगर–११ जनपथ टोलका ७८ वर्षीय शंकरलाल खेम्कालाई मोबिल र इनामेल कालोबजारी गरेको अभियोगमा पक्राउ गरिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो विराटनगर ११ जनपथमा रहेको खेम्काको गोदामबाट पक्राउ गरेकाे हो ।
प्रहरीले २०० लिटर मोबिलसहितको १५ वटा ड्रम, २० लिटरको मोबिलसहितको ३ वटा ड्रम, १० लिटरको मोबिलसहितको २ वटा बाल्टी, १ लिटरको मोबिलसहितको १४ वटा बट्टा, २०० लिटरको खाली ड्रम २४ वटा, सर्वोको स्टिकर १०० पिस, सर्वोको स्टिकर छाप्ने फर्मा २१ वटा, खाली १ लिटर सर्वोको स्टिकर लगाएको १०० थान, स्टिकर नलगाएको १ लिटरको खाली बोतल २०० थान, एशियन पेन्ट लेखिएको इनामेल ५०० लिटरको ७ बट्टा बरामद गरेको छ ।

खेम्काले विगत २० वर्ष अगाडिदेखि गोदाम भाडामा लिई नक्कली मोबिललाई सर्वोको स्टिकर टाँसी बिक्री वितरण गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका शंकरलाल खेम्का उपर थप अनुसन्धान भइरहेको सो जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।




