खोटाङ, १ चैत । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसको आगामी भदौमा हुने १४औँ महाधिवेशनमा केन्द्रीय सभापतिबाहेक कुनै पनि पदमा आफूले उम्मेदवारी नदिने बताएका छन् । शनिबार खोटाङमा आयोजित कार्यक्रममा उनले पार्टीको सभापति पदमा आफूले उम्मेदवारी दिनेबारे समर्थक र नेताहरुसँग छलफल भइरहेको जानकारी दिए ।
नेता कोइरालाले अहिले नेपाली कांग्रेसभित्रको आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएकाले कांग्रेसलाई लिकमा ल्याउन आफूले सभापतिको दाबी गरेको बताए । मुलुकमा विकसित राजनीतिक परिवेशको मुख्य जिम्मेवार प्रधानमन्त्री केपी शर्मा ओली रहेको उनले आरोप लगाए ।
उनले भने, “संसद् पुनःस्थापना भएपछि राजनीतिक दलको भूमिका मिल्न नसक्ने अवस्थामा पुगेको छ । वर्तमान परिवेशमा प्रतिनिधिसभा अनिर्णयको बन्दी भइरहनुपर्ने परिस्थिति सिर्जना भएकाले चुनावमा जानुको विकल्प छैन ।”
नेता कोइरालाले पछिल्लो राजनीतिक गतिरोध अन्त्यका लागि अब निर्वाचनको तयारीमा लाग्नुको विकल्प नभएकाले आवधिक वा मध्यावधि जुनसुकै भएपनि निर्वाचन हुन आवश्यक रहेको बताउँदै अल्पमतको सरकार नभएसम्म निर्वाचनमा जान नसकिने संवैधानिक व्यवस्था भएकाले अब त्यसतर्फ लाग्नु पर्नेमा जोड दिए ।






