विराटनगर, २ चैत । विराटनगरबाट भारततर्फ ट्यांकरमा डिजल तस्करी गरेकाे अारोपमा २ जना पक्राउ परेका छन् । प्रहरीले इन्धन तस्करीमा संलग्न रहेको आरोपमा भारत अररिया जिल्ला मिरगन्जका २६ वर्षीय मोहमद सजाद र २१ वर्षीय इमरोज आलमलाई पक्राउ गरेको हो ।

शनिबार पेट्रोल लिनका लागि भारत जाने तयारीमा रहेको को१ख ५९१२ नम्बरको ट्यांकर जाँच गर्दा दुई हजार छ सय ६० लिटर डिजल बरामद भएको थियो ।
शनिबार दिउँसो साढे २ बजे विराटनगर-४ कन्चनबारीस्थित नेपाल आयल नियम १ नं. प्रदेश कार्यालयमा सजाद र आलमले सो ट्यांकरमा निगमको विनियम तथा प्रचलित कानून विपरित पेट्रोलियम पदार्थ अपचलन गरी राजश्व चुहावट गरेको पाइएपछि प्रहरीले छानबिन थालेकाे थियो ।

छानबिनपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अाइतबार नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुलाइ आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाइएकाे प्रहरी नायवउपरीक्षक मानबहादुर राइले जानकारी दिए । नेपालमा भन्दा भारतमा इन्धन महँगो छ । यसैले नेपालबाट भारततर्फ इन्धन तस्करी हुने गरेकाे पाइएको छ ।

भारतमा पेट्रोल प्रतिलिटर एक सय ५५ रुपैयाँ प्रतिलिटरसम्म पर्छ । नेपालमा भने पेट्रोलको मूल्य एक सय १६ रुपैयाँ छ । डिजल नेपालमा ९९ रुपैयाँ प्रतिलिटर छ । भारतमा नेपालको तुलनामा प्रतिलिटर २५ रुपैयाँभन्दा बढी छ ।




