विराटनगर, २ चैत । विराटनगरमा एकैसाथ तीन वटा आकाशे पुल बन्ने भएको छ । सोमबार विराटनगर महानगरका मेयर भीम पराजुलीले बरगाछी चोकमा निर्माण हुन लागेको आकाशेपुलको शिलान्यास गरेका हुन् । विराटनगरमा सवारी साधनको चाप बढ्न थालेपछि दुई करोड ३९ लाख लागतमा महानगरपालिले आकाशेपुल निर्माण गर्न लागेको हो ।

विराटनगर महानगरपालिकाका नक्शा शाखाका प्रमुख अर्जुन थापाका अनुसार नगर क्षेत्रको धरान–विराटनगर सडकखण्डको कञ्चनबारी चोक, बरगाछी चोक र भट्टी मोड (घाँसचोक) गरी तीन ठाउँमा आकाशे पुल निर्माण हुन लागेको हो ।

उनका अनुसार विराटनगरको कञ्चनबारी चोकमा ७८ लाख, बरगाछी चोकमा ६८ लाख र भट्टीचोकमा ९३ लाख रुपैयाँ लागतमा आकाशेपुल बन्न लागेको हो । ६ लेनको मापदण्डअनुसार बन्ने सो पुल फलामको बताइएको छ । चालू आर्थिक वर्षमै योजना सम्पन्न हुने प्रमुख थापाको भनाइ छ ।




