
राजन लम्साल
शेयर बजरमा सधैभरी यही समयमा थोरै ‘करेक्सन’ आउने गर्छ । यतिबेला चैतमसान्तको प्रभाव पर्ने भएकाले बजारमा केही करेक्सन आउने गरेको हो । शेयर बिक्री गरेर बैंक तथा वित्तीय संस्थाको चैतमसान्तसम्मको ब्याज बुझाउनु पर्ने भएकाले पनि यो समयमा केही करेक्सन आउने गर्छ । यही बेला बैंकको ब्याज र कर भुक्तानी गर्नु पर्ने हुन्छ । त्यसका लागि रकमको जोहो गर्नु पर्ने हुन्छ ।
ठूला उद्योगीदेखि साना व्यवसायीले समेत शेयरमा लगानी गरेका हुन्छन् । छिटो पैसा झिक्न सजिलो हुने भएकाले पनि यही मौकामा शेयर बिक्री गरेर बैंकको ब्याज भुक्तानी र कर पनि तिर्ने गर्छन् । यसले गर्दा जहिले पनि यतिबेला शेयर बजारमा सामान्य रुपमा करेक्सन आउने गर्छ । अर्को कुरा, यतिबेला नेपाल स्टक एक्चेन्ज (नेप्से)मा सूचीकृत सबै कम्पनीले वितरण गरेको बोनस तथा हकप्रद शेयर ‘लिष्टिङ’ हुने गर्छ । सूचीकृत भएको बोनस र हकप्रद शेयरले बजारमा आपूर्ति बढाउने गर्छ । नेप्सेमा सूचीकृत हुने बित्तीकै मानिससँग अलिकति शेयर बढी हुने नै भयो ।
बोनस र हकप्रद नै त हो । त्यसलाई बिक्री गरेर खर्च चलाउ न त भन्नेहरु पनि धेरै नै हुन्छन् । त्यसले पनि बजारमा यतिबेला अलिकति असर पार्ने गर्छ । त्यसैगरी, केही समय अघिदेखि बजारमा लगानीयोग्य रकमको अभाव हुने भयो भन्ने हल्ला पनि फैलिन पुग्यो । तरलताको अभाव हुन गयो भने ब्याजदर बढ्छ भन्ने कुरा पनि शेयर बजारमा पुग्यो । यसले पनि शेयर बजारमा सामान्य करेक्सन आउन पुगेको हो ।
बजारमा नकारात्मक हल्ला, चैतमसान्तको प्रभाव र बोनस शेयरको सूचीकरण भएपछि बजारमा शेयरको परिणाम धेरै भएकालगायतका कारणले नेप्से सामान्य करेक्सन आएको हो । यसलाई ‘सिजनल’ करेक्सन भन्दा पनि हुन्छ । यस्तो करेक्सन जुनसुकै वर्षपनि हुने गर्छ । फागुनको अन्तिमदेखि चैतको पहिलो सातासम्म बजार घटनुको कारण पनि त्यही नै हो । ब्याजदर बढ्छ भन्ने हल्ला र बोनस शेयर सूचीकृत भएपछि शेयर परिणाम बढी हुन जानु लगायतका कारण बजारमा सामान्य करेक्सन आएको हो । अहिले शेयरको आपूर्ति पनि हल्काफुल्का बढेको हो ।
अर्को कुरा, बैंकहरुले हिजो अस्तिमात्र वेश रेट सार्वजनिक गरेका छन् । त्यसले पनि ब्याजदर बढ्दैन भन्ने संन्देश दिएको छ । ऋणको ब्याजदर बढ्दैन भन्ने सुनिश्चितता भएको छ । लगानीकर्ता पनि ८/१० दिनपछि चैतमसान्तको प्रभाव सकिने र त्यसपछि शेयर किन्ने मुडमा देखिएका छन् । अर्को सातादेखि बजारमा धेरै करेक्सन आउँदैन होला । यो साता भने नेप्सेमा सामान्य करेक्सन आउन सक्छ । तर डराइ हाल्नु पर्ने अवस्था भने देखिदैन् ।
लगानीकर्ताले अर्को सातादेखि तेस्रो त्रैमासिक वित्तीय विवरणको पूर्वानुमान गर्न थाल्ने छ । नेप्सेमा सूचीकृत कम्पनीको नाफा ९ महिनामा यति आउँदै छ भन्ने हल्ला फैलिने भएकाले पनि बजारमा सकारात्मक संन्देश आउने निश्चित छ । अर्कोे साताबाट लगानीकर्ताहरुले शेयर खरिद गर्न थाल्ने संम्भावना देखिएको छ । जो लगानीकर्ताले बजार घट्छ भनेर पहिला बिक्री गरेर बसेका छन् उनीहरुले पनि अर्को सातादेखि शेयर खरिद गर्ने सम्भावना पनि त्यतिकै देखिएको छ ।
लगानीकर्ताहरु अर्को सातादेखि लगानी गर्न तयार हुने स्थिति पनि देखिएको छ । अर्को सातादेखि बजारमा ‘नेगेटिभ’ मुभमेन्ट सकिने छ । बजारमा ‘बुलिस साइकल’ भरखरै सुरु भएको छ । शेयर बजार ४/५ महिनादेखि निरन्तर बढ्न पुग्यो । १२०० विन्दुबाट नेप्से करेक्सन नभइकन २६५० सम्म पुग्यो । त्यो हिसाबले अहिले सानो तिनो अर्थात २००/३०० को करेक्सन हुन पुगेको हो ।
धेरैजसो कम्पनीको चैतमसान्तसम्मको वित्तीय विवरण राम्रो आउने अनुमान गरिएको छ । यसले पनि शेयर बजारमा सकारात्मक प्रभाव पर्ने निश्चित छ । राष्ट्र बैंकले पनि उद्योगी व्यवसायीलाई ऋण तिर्नका लागि सहुलियत दिएको छ । यसले पनि बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ्ने सम्भावना देखिएको छैन् । गत पुसमसान्तसम्ममा भाइक्रोफाइनान्स कम्पनीको वित्तीय विवरण राम्रो देखिएका कारण ती कम्पनीको शेयर मूल्य बढ्न पुग्यो । त्यसैगरी, गत पुसमहिनासम्मको बीमा कम्पनीको वित्तीय विवरण पनि राम्रो आएको छ । शेयर खरिद-बिक्री गरेर पनि बीमा कम्पनीले राम्रै नाफा गरेको देखिन्छ ।
बैंकहरुको कमाइ पनि राम्रो देखिएको छ । राष्ट्र बैंकले ५ प्रतिशत तिर्दा पनि स्वःतह नबिकरण गरिदिने व्यवस्था गरेकाले पनि बैंकको कमाइ राम्रो हुने छ । अहिले पनि कुनै पनि कर्जा बिग्रेको भन्ने छैन् । त्यो भएपछि तेस्रो त्रैमासिक वित्तीय विवरणमा राम्रो आउने निश्चित छ । तेस्रो त्रैमासिक वित्तीय विवरण राम्रो आउदैछ भन्ने संन्देश बजारमा आउने र त्यसले पनि बजारमा सकारात्मक प्रभाव पर्ने निश्चित छ । चैतको दोस्रो सातादेखि बजार बिस्तारै तात्दै जाने छ ।
अर्को कुरा, शेयरमा लगानी गरेको लगानीको प्रतिफल पनि ५/६ महिनाभित्रै पाइने भएकाले पनि शेयर बजार पुनः उकालो लाग्ने सम्भावना देखिएको छ । अहिले लगानी गरेका लगानीकर्ताले आगामी भदौबाट पुन बोनस र नगद पाउने भएकाले पनि शेयर बजारमा पुनः चार्म देखिने छ । चैतसम्मको तेस्रो त्रैमासिक वित्तीय विवरण आइसकेपछि कुन कम्पनीले कति लार्भाश दिने भन्ने प्रष्ट रुपमा आकलन गर्न सकिने अवस्था आउँछ । चालु आर्थिक वर्षको ९ महिनाको नाफाले यति लाभांश पाउन सकिन्छ भन्ने अनुमान गर्न सकिन्छ ।
वितेका ९ महिनामा भएको आम्दानीले आगामी ३ महिनामा हुने आम्दानीको सजिलैसँग पूर्वअनुमान गर्न सकिने भएकाले पनि लाभांश यति प्राप्त हुन्छ भन्ने अनुमान गर्न सकिन्छ । यसले पनि बजारमा सकारात्मक प्रभाव पार्ने छ । कम्पनीले यति दिन सक्छन भनेर पूर्व अनुमान गरिएकोमा त्यसमा १/२ प्रतिशत तलमाथि हुन सक्छ । तर तेस्रो त्रैमासिक वित्तीय विवरण हेरेर यो कम्पनीले यति लाभांश दिन सकिन्छ भन्ने थाहा हुन्छ । लगानीकर्ताले तेस्रो त्रैमासिक वित्तीय विवरण हेरर शेयरमा लगानी गर्न थाल्ने भएकाले पनि बजार बढ्ने सम्भावना हुन्छ ।
१८ प्रतिशत लाभांश दिन सक्ने कम्पनीले २ प्रतिशत कम दिएपनि १६ प्रतिशत त लाभांश दिन्छ भन्ने हिसाबले ‘गेस’ गरेर पनि लगानी गर्न थाल्छन् । बजारमा तेस्रो त्रैमासिक वित्तीय विवरणले लाभांश कति दिन्छ भनेर अनुमान गर्ने बेश आधार तयार गरिदिन्छ । यो आर्थिक वर्षमा लगानीयोग्य रकमको अभाव हुने सम्भावना देखिदैन् । सरकारले विकास निर्माणका काम तिब्रगतिमा सुरु गरेको छ । पुस र माघपछि मात्र विकास निर्माणको लागि ठूलो संख्यामा टेन्डर हाल्ने काम भइरहेका छन् । सरकारले जहिले पनि आर्थिक वर्षको अन्तिरमतिर मात्र खर्च गर्ने गर्छ ।
सरकारले केही समय अघिमात्र १५ प्रतिशत खर्च भएको सार्वजनिक गरेको थियो । आर्थिक वर्षको अन्त्यतिरको ३ महिनामा अरु ५० प्रतिशत खर्च गरेर ६५/७० प्रतिशत खर्च पुर्याउने गर्छ । यो हिसाबले सरकारले आर्थिक वर्षको अन्त्यमा ठूलो परिणामको खर्च हुने र सरकारको कोषबाट त्यस्तो रकम बैंकिङ प्रणालीमा आउने गर्छ । सरकारी कोषमा भएको रकम बाहिर निष्कियो भने त्यसले तरलताको सहजता बनाइ दिने गर्छ । त्यो हिसाबले ‘लिक्युडिटी टाइट’ हुने सम्भावना देखिएन् ।
अर्कोतिर, बैकले बेश रेट घटाएका छन् । बेश रेट घटेकाले ब्याजदर बढ्छ भन्ने सम्भावना न्यून भएको छ । यो सातापछि शेयर बजारमा धेरै ‘नेगेटिभ सेन्टिेमेन्ट’ आउने सम्भावना छैन् । अर्को साताबाट शेयर नेप्से पुनः उकालो लाग्ने सम्भावना देखिएको छ ।