२०८३ श्रावण १२       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इनरुवा, ५ चैत । नेपाली कांग्रेसका नेता एंव पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कांग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्न पार्टीका सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् । सुनसरी सदरमुकाम इनरुवास्थित पार्टी कार्यालयमा कांग्रेस सुनसरीले बुधबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा भेटघाट कार्यक्रममा उनले यस्तो सुझाव दिएका हुन् ।

उनले केन्द्रीय समितिको बैठकमा आफूले तीन दलसँग सहमति गरेर कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि पहल गर्न सुझाव दिएको बताए । नेता सिटौलाले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र धाधलीरहित बनाउनका लागि भएपनि कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्नेमा जोड दिए ।

अहिलेको सरकारले जनतालाई राहत दिनुको सट्टा दुःख दिने काम मात्र गरेको आरोप लगाउँदै उनले किसानको नाममा ठूलाठूला भाषण गरेको भए पनि अहिलेको सरकार किसानको समस्याप्रति उदासिन देखिएको उल्लेख गरे ।

उनले अहिले साना किसानका लागि खाद्यमल, सिँचाइ, बीउबिजनको समस्या रहेकाले यसतर्फ सरकार सम्वेदनशील हुनुपर्ने बताए । नेता सिटौलाले कोरोना महामारीका बेलामा नेपाल तथा देशभन्दा बाहिर रहेका श्रमिकको समस्या समाधान गर्नका लागि कांग्रेसले पटक–पटक आग्रह गर्दा पनि सरकार यसप्रति गम्भीर नभएको आरोप लगाए ।

कार्यक्रममा प्रदेश नं १, प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेसका जिल्ला सभापति राजिव कोइराला, प्रदेशसभा सदस्य ज्योति सुब्बा, नवोदिता चौधरी, विराटनगर महानगरपालिकाका प्रमुख भीमप्रसाद पराजुली, कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारी, जिल्ला सचिव केदार भण्डारी, कोषाध्यक्ष पङ्कज महतोलगायत नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!