विराटनगर, ५ चैत । विराटनगरमा बिहीबार सार्वजनिक बिदा दिइएको छ । विराटनगरका पहिलो निर्वाचित मेयर अशोक कोइरालाको मृत्यु शोकमा आज सार्वजनिक बिदा दिइएको हो ।
विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले पूर्व-मेयर कोइलाराको निधनको शोकमा बिहीबार अत्यावश्यक बाहेकका नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिइएको जानकारी दिए ।
कोइराला विराटनगर उपमहानगरपालिकाका पहिलो निर्वाचित मेयर हुन् । २०४८ सालमा मेयरमा निर्वाचित भएका कोइरालाले २०५४ सालसम्म काम गरेका थिए ।
कोइरालाको गए राति १ बजे निधन भएको हो । उनको निधन विराटनगरस्थित न्यूरो अस्पतालमा निमोनियाको उपचारका क्रममा भएको कांग्रेस निर्वाचन क्षेत्र ४ मोरङका सचिव सन्तनु रेग्मीले जानकारी दिए ।
७५ वर्षीय कोइरालाका एक छोरा, एक छोरी र श्रीमती छन् । उनको आजै दिउँसो १ बजे शवयात्रा निकाल्ने कांग्रेसको पार्टी कार्यालय पुगेर एक घण्टा श्रद्धाञ्जलि व्यक्त गर्ने कार्यक्रम छ । आजै विराटनगरको हाटखोलास्थित विश्रान्त घाटमा अन्त्येष्टि हुने सचिव रेग्मीले जानकारी दिए ।





