२०८१ चैत्र १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २५ असाेज । सुनसरीको देवानगञ्ज–७ बस्ने एक महिलामाथि निर्घात कुटपिट भएको छ ।

अंशबण्डाको विवाद नमिल्दा देवानगञ्ज–७ बस्ने ३० वर्षीया ममतादेवी मेहतामाथि कुटपिट भएको हो । गत असोज १८ गते साँझ करिब ७ बजे जेठाजु राजकुमार मेहता र उनका २ साथी रामकुमार यादव तथा सुवेश यादवले महिलामाथि कुटपिट गरेको स्थानीयले बताएका छन् ।

तीन जनाको कुटपिटबाट महिलाको टाउको, मुख र घाँटीको पछिल्लो भागमा चोट लागेको छ । विराटनगरस्थित गोल्डेन हस्पिटलमा उपचार भएपछि उनी अहिले डिस्चार्ज भएकी छन् ।

यस्तो छ घटनाको नालीबेली

देवानगञ्ज-७ बस्ने पिडित ममतादेवी मेहताको श्रीमान् र २ छोराछोरी छन् । श्रीमान् दिनेश मेहताको विराटनगरमा सागसब्जीको खुद्रा व्यापार छ । उनीहरु राजकुमार मेहता, दिनेश मेहता र सन्तोष मेहता गरी ३ दाजुभाई छन् । उनीहरुबीच करिब ४ वर्षदेखि १० कठ्ठा जग्गाको अंशबण्डाको विवाद छ । ठूलो दाजु राजकुमारले जग्गाको अंशबण्डा गर्न मानेका छैनन् । जग्गा अहिलेसम्म हजुरबुवा जोखन मेहताको नाममा भएपनि राजकुमारले भने करिब ४ वर्षपहिले नै आफ्ना साथी रामकुमार यादवलाई १० धुर जग्गा मुखौती बिक्री गरिसकेका छन् ।

तर सो जग्गामा दिनेश र उनको परिवारको ३ कोठे घर छ । आफूले घर बनाएको जग्गा दाजुले कुनै जानकारीविना नै आफ्नो साथीलाई मुखौती बेचिसकेको दिनेशको आरोप छ । ‘घर बनाएको जग्गा दाइले गोप्य रुपमा आफ्नो साथीलाई बेच्नुभयो’, उनले भने, ‘अंशको मुद्दा हालेपछि मात्र जग्गा बिक्री गरेको थाहा पाए ।’

हाल राजकुमारले मुखौती बेचेको सो १० धुर जग्गा रामकुमारको नाममा पास गरेपछि मात्र अंशबण्डा गर्ने बताउँदै आएका छन् । तर दिनेशले जग्गा पास गर्दा आफ्नो घर भत्काउनुपर्ने भन्दै असहमति जनाउँदै आएका छन् ।

असोज १८ गते आइतबार सोही विषयमा विवाद झिक्दै राजकुमार र उनको २ साथीले महिलामाथि कुटपिट गरेका थिए । घटना भएको साँझ दिनेश तरकारी बिक्री गर्न बजार गएका थिए । ‘साँझको खाना पकाउन तयारी गर्दै थिएँ । दाजुसहित आएका दुई जना भएर मलाई एक्कासी कुटपिट गर्न थाले,’ ममतादेवीले भनिन्, ‘कुटाइ खाएपछि म त्यही ढलेँ । राती श्रीमान् आएपछि हस्पिटल पुर्‍याउँदा मात्र मेरो होस आयो ।’

कारबाही नगरी प्रहरीले छोडिदियो

कुटपिटमा संलग्न एक जनालाई हरिनगरा प्रहरी चौकीले घटनास्थलबाटै पक्राउ गरेपनि कुनै कारबाहीको प्रक्रिया अगाडि नबढाई छोडिएको पीडित परिवारको आरोप छ ।

प्रहरी चौकी हरिनगराले घटनामा संलग्न सुवेशलाई पक्राउ गरेको थियो । तर जग्गासम्बन्धी विवाद भएकोले पीडित र पीडिकबीच मिल्न दबाब दिँदै पक्राउ परेका सुवेशलाई छोडिदिएको दिनेश मेहताको भनाई छ । ‘कुटपिटबाट घाइते भएपछि हामीले हरिनगरा प्रहरी चौकीमा लिखित उजुरी दिएपनि प्रहरीले जाहेरी लिन मानेन,’ उनले भने, ‘प्रहरीले निवेदन दर्ता गर्न मानेन । दुवै पक्षबीच क्षतिपूर्तिसहित मिल्न भनी हामीलाई दबाब दिएर घर फर्कायो ।’

हरिनगरा प्रहरीले चौकीले निवेदन दर्ता गर्न नमानेपछि पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सुनसरीमा हुलाकमार्फत उजुरी पठाएको छ । कुटपिट गर्नेहरुलाई आवश्यक कारबाहीको माग राख्दै उनीहरुले हुलाकमार्फत सुनसरी प्रहरीमा उजुरी पठाएको देवानगञ्ज गाउँपालिका ७ का वडाध्यक्ष बद्री यादवले जानकारी दिए ।

महिलामाथि यसअघि पनि पटकपटक विभिन्न विषयमा कुटपिट हुँदै आएको वडाध्यक्ष यादवको भनाइ छ । सम्बन्धित विषयमा थप बुझ्न हरिनगरा प्रहरी चौकी र विपक्षीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!