उदयपुर, ९ चैत । उदयपुरमा आगोले जलेर तीन वर्षीय बालकको मृत्यु भएकाे छ । उदयपुरको कटारी नगरपालिका-१० का सुजन थापाको ३ वर्षीय छोरा अरबिन्द्र थापाको आगोले जलेर मृत्यु भएको हो ।
आइतबार बेलुका ६ बजेको समयमा घरनिजकै रहेको परालको कुन्युमा अचानक आगलागी भई उक्त आगलागीबाट घरमा समेत आगो सल्कँदा घरभित्र रहेका बालकको आगोले जलेर मृत्यु भएको हो ।
उक्त आगलागीबाट थापाको २ तले कच्ची घरसहित घरभित्र रहेको खाद्यान्न, लत्ता कपडा, भाँडावर्तन, नगद १ लाख ५० हजार, घर नजिकै रहेको मतान घर, बाख्राको गोठ र २ वटा बाख्राको पाठासमेत जलेर नष्ट हुँदा अन्दाजी ३० लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
सोही आगलागीबाट छिमेकी प्रकाश थापाको समेत घरमा आगलागी भई जलेर नष्ट हुँदा निजको घर भित्र रहेको खाद्यान्न, लत्ता कपडा, भाँडावर्तन, नगद १ लाख ५० हजार, सुन/चाँदी, घर नजिकै रहेको मतान घर, २ वटा बाख्राको पाठा र भैसीको पाडो समेत जलेर नष्ट हुँदा अन्दाजी २८ लाख बराबरको क्षति भएको तथा अर्का छिमेकी मेख बहादुर थापाको समेत घर पुर्ण रुपमा जलेर नष्ट हुँदा अन्दाजी २५ लाख बराबरको क्षति भएको हो ।
उक्त आगलागी नेपाल प्रहरी र स्थानीयवासीको सहयोग बेलुका सवा ९ बजे नियन्त्रणमा आएको उक्त कार्यालयले जनाएको छ ।




