२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २५ असोज । सुन्दरहरैंचाकी पाँच वर्षीया पूजा भट्टराई खाना खाँदा साथमा मोबाइल नभए मुखमा गाँस पनि हाल्दिनन् । नेट जडित मोबाइलमा युटुब र युटुबमा स्पेनिस भाषाका केटाकेटीको नाटक हेर्दै खाना खाँदा मात्र उनले थालको खाना रित्याउँछिन् । आमा निर्जला मात्र नभएर उनका परिवार नै पूजाको यो व्यवहारबाट वाक्क भइसकेका छन् ।

जुनसुकै बेला पनि फोनमा झुण्डिने उनको बानी छ । प्रायः उनी रातको दुई बजेसम्म निदाउँदिनन् । रातको समय अनि मोबाइलको ब्राइटनेस । बिहान अबेर उठ्दा उनको आँखा रातो भइरहेका हुन्छन् । छोरीलाई यो लतबाट छुटाउन निर्जला अनेक उपाय सोचिरहन्छिन् ।

यस्तै व्यवहार देखाउँछन्, विराटनगर–३ का प्रकाश निरौला । आफ्ना हजुरआमा–हजुरबुबासँग मामाघरमा बस्दै आएका चार वर्षीय प्रकाशलाई कार्टुन मन पर्छ । मोबाइलमा ‘मोटु पत्लु’ हेर्न नपाउँदा पस्केको भात जतिको त्यति नै रहन्छ । कोहीसँग नबोल्ने र प्रायः मोबाइलमै घत्लिरहने उनको बानीले हजुरआमा गीतादेवी बराल दिक्क छिन् ।

प्रकाशको पनि उस्तै बानी छ । राति अबेरसम्म मोबाइल हेर्ने र बिहान ढिलो उठ्ने । अझ, कोरोना महामारीको रोकथामका लागि लगाइएको लकडाउनले विद्यालय बन्द भएपछि उनी झन् धेरै मोबाइलमा झुम्मिन्छन् ।

सुन्दरहरैँचाकै अग्रिम काफ्लेको पनि मोबाइल मोह धैरै छ । लकडाउनका कारण विद्यालय बन्द भएपछि उनी मोबाइलका प्यार भएका छन् । छ वर्षीय अग्रिम युटुबमा भिडियो हेर्ने मात्रै नभएर विभिन्न तरिकाका गेमहरू खेल्छन् । ‘फ्री फायर’, ‘लुँडो’ अनि ‘क्यान्डी क्रस’ उनका मनपर्ने गेमहरू हुन् । उनी प्रायः राति १० बजेसम्म मोबाइलमा व्यस्त रहन्छन् र बिहान अबेरसम्म सुतिरहन्छन् ।

यी तीन उदारहणका पात्र मात्र हुन् । पछिल्लो समय लकडाउनका कारण विद्यालयदेखि टाढा रहेका बालबालिकाको अधिकांश समय मोबाइल चलाउँदै बित्छ । अझ, घर–घरमा नेटको सुविधा भएपछि केटाकेटीलाई समय कटाउने राम्रो मेलो भएको छ ।

तर, केटाकेटीले मोबाइल चलाउनु समय ब्यतित गर्ने मात्र नभएर रोग निम्त्याउनु रहेको विभिन्न अनुसन्धानहरूको दाबी छ । अर्काइव्स अफ डिजिज इन चाइल्डहुडमा प्रकाशित एक अनुसन्धानका अनुसार बालबालिका घण्टौंसम्म टिभी तथा मोबाइलको स्क्रिनमा आफ्नो समय बिताउने गर्दा शारीरिक रूपमा निष्क्रिय हुन्छन् । जसले गर्दा शरीरको बोसो बढ्न गइ उनीहरू मोटोपनको शिकार हुने गर्छन् ।

त्यसबाहेक एकै ठाउँमा धेरै समय बिताउने गर्दा शरीरमा रहेको इन्सुलिन, पाचनग्रन्थी तथा हर्मोनको माध्यमबाट रगत र ग्लुकोजको स्तर बढ्न दिँदैन । जसको कारण डायविटिजसमेत लाग्नसक्ने सम्भावना बढेर जान्छ ।

त्यसबाहेक स्क्रीनबाट निस्किने प्रकाशको जोखिम आँखाको लागि राम्रो हुँदैन । यसले आँखाको ड्राईनेस, खुजली, मायोपिया इत्यादि जस्ता समस्या निम्त्याउन सक्छ ।

२ देखि ५ वर्ष बीचको बच्चाको लागि स्क्रिन समय एक दिनमा १ घण्टाभन्दा बढी हुनु हुँदैन । प्रायः बच्चाहरूलाई स्क्रीनमा लगातार एक दुई सेकेन्डका लागि आँखा नझिम्क्याइ हेरिरहेका हुन्छन् ।

यसो गर्नाले आँखाको पानी कम हुन्छ र आँखा सुक्खा हुन्छ । आँखा धेरै सुक्खा भएमा आँखासम्बन्धी धेरै जटिलता निम्तिन सक्छ । यसबाट बच्चाहरूले धेरै टाउको दुख्ने वा धमिलो देख्ने गुनासो पनि गर्न सक्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!