
काठमाडौं, २५ असोज । चिकित्सा क्षेत्रको सेवा र शिक्षाको सुधारको माग राख्दै अनसनरत डा. गोविन्द केसीले आइतबार अनसन तोडेका छन् । डा केसीले आफ्नो २८ दिनको दिन १९औँ अनसन तोडेका हुन् ।
शनिबार मध्यरातमा डा. केसी र सरकारबीच आठ बुँदे सहमति भएसँगै उनले अनसन तोडेका हुन् । शिक्षण अस्पतालमा अनसनमा बसेका डा. केसीले सोही अस्पतालका कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।
सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डाक्टर केसीले शनिबार मध्यरातमा सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सरकार र डा.केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । अन्यत्र २०८० फागुन १० भित्र पढाई सुरु गर्ने सहमतिमा उल्लेख छ ।
यस्तै विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निश्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने सहमति भएको छ ।
यस्तै चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा. केसीबीच २०७५ साउन १० लाई पनि राख्ने सहमतिमा उल्लेख छ ।