सुनसरी, ११ चैत । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पक्षमा नरहेको बताएका छन् । मंगलबार सुनसरीको धरानमा ५६ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको सन्दर्भमा आयोजित अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले काँग्रेस अविश्वासको प्रस्तावमा तत्काल नजाने बताएका हुन् ।
देउवाले काँग्रेसले सरकारमा जान मरिहत्ते नगरेको भन्दै प्रतिपक्षकै भूमिकामा रहने स्पष्ट पार्दै भने, “कांग्रेस नेतृत्वको सरकार बनाउन हामी मरिमेटेका छैनौँ, अहिले सरकारमा जाने मुडामा समेत नभएको अवस्था छ । हामी विपक्षी पार्टी हौँ, हामीले विपक्षी पार्टीकै भूमिका खेलेका छौँ अहिले जनमत पनि काँग्रेसलाई सरकारमा जानका लागि दिएको अवस्था छैन ।”
उनले पार्टी सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पक्षमा नभएको समेत बताए । “अविश्वासको प्रस्ताव जसले ल्याए पनि हुन्छ । अविश्वासको प्रस्तावको बारेमा हामीलाई थाहा छैन”, उनले भने ।






