विराटनगर, १२ चैत । छिमेकी मुलुक भारतमा संक्रमणको दोस्रो लहर सुरु भएको निष्कर्ष विज्ञहरुले निकालिरहँदा मोरङमा पनि स्थानीय प्रशासनले संक्रमण रोकथाम गर्न आफ्नो सक्रियता बढाएको छ । नजिकिँदै गरेको रङहरुको पर्व होलीमा हुने भिडभाडले कोरोनाको संक्रमणलाई फेरि विस्तार गर्नसक्ने भन्दै स्थानीय प्रशासनले सक्रियता देखाएको हो ।
यस्तैमा जिल्ला प्रशासन कार्यालय मोरङले पनि होली पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन भिडभाड नगर्न र कार्यक्रमको आयोजना नगरी घरमै सीमित भएर होली मनाउन आग्रह गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कोरोना सङ्क्रमण बढ्दो अवस्थामा भएका कारण सुरक्षित रहेर होली मनाउन आग्रह गरेका हुन् ।
मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले पनि भिडभाड गरेर र कार्यक्रमको आयोजना गरेर होली नमनाउने र नियमको उल्लंघन गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याउने निर्णय गरेको निरौलाले बताए ।
‘होली नै मनाउन रोक लगाउन सकिँदैन । सामाजिक सद्भावको चाड भएका कारण होली खेल्न प्रतिबन्ध लगाउन सकिँदैन । तर सुरक्षित भएर होली खेल्नुपर्छ । अस्तिको बैठकले कार्यक्रम नगर्न र भिडभाड नगरी होली मनाउन दिने निर्णय गरेको छ । घरमै सीमित भएर होली खेलिदिन हाम्रो अनुरोध छ’, उनले ग्रामीण खबरसँगको कुराकानीमा भने ।
समितिले परिवारका सदस्यबीचमा स्वास्थ्य मापदण्ड अपनाएर मात्रै होली मनाउन प्रशासनले सबैमा अनुरोध गरेको निरौलाले बताए । गृह मन्त्रालयको परिपत्रअनुसार सुरक्षा समितिले होलीमा कडाई गर्न लागेको बताउँदै उनले बाहिर सांस्कृतिक कार्यक्रम गर्नका लागि अनुमति नदिइने र त्यसरी गरेको पाइएमा कारबाही गरिने निर्णय सुरक्षा समितिले निर्णय गरेको बताए ।
‘विभिन्न किसिमका मेला तथा जात्रा गराउन रोक लगाइएको छ । कलाकार बोलाएर, मञ्ज बनाएर भिडभाड गर्ने कुरामा पनि रोक छ’, उनले थपे । यसैगरी उनले भारतमा व्यापक रुपमा संक्रमण फैलन थालेपछि सीमा–नाकामा पनि कडाई थालिएको बताए ।




