विराटनगर, १३ चैत । प्रदेश एक सरकारको शुक्रबार मन्त्रीमण्डल विस्तार भएकाे छ । मुख्यमन्त्री शेरधन राईले चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका हुन् । मन्त्री बनेकाहरु माओवादी केन्द्र छाडेर आएका र मुख्यमन्त्रीलाई साथ दिनेहरु रहेका छन् ।
माओवादी केन्द्र छाडेर आएका टंक आङ्बुहाङ र नेपाल समूहबाट ओली समूहमा आएकी उषाकला राई मन्त्री बनेका छन् । आङबुहाङलाई प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालय र राईलाई सामाजिक विकास मन्त्रालय दिइएको छ ।
यस्तै रामबहादुर राना र अम्बिरबाबु गुरुङलाई मन्त्री पदको जिम्मेवारी दिइएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम राना र भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बीरबाबु गुरुङलाई मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
यस्तै राज्यमन्त्रीमा दुईजना थपिने भएका छन् । राज्य मन्त्रीमा कला घले र राजकुमार ओझा नियुक्त भएका छन् । गुट परिवर्तन गरेकी उदयपुरकी सांसद घले र मोरङका ओझालाई राज्यमन्त्री जिम्मेवारी दिइएको हो ।
घलेले भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन् भने राजकुमार ओझाले उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।




