गाईघाट, २२ चैत । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकको विद्यमान राजनीतिक समस्या समाधान गर्न र आवश्यक परे सरकारको नेतृत्व लिन पनि नेपाली कांग्रेस तयार रहेको बताएका छन् । शनिबार गाईघाटस्थित लोकतान्त्रिक चौकमा आयोजित नेपाल राष्ट्रिय मगर सङ्घ प्रदेश नं १ को भेलामा उनले यस्तो बताएका हुन् ।
“नेकपा एमाले र माओवादी केन्द्र फुटेर झगडामा लागेपछि अहिले देशमा राजनीतिक सङ्कटसँगै सरकार पनि सङ्कटमा परेको छ,” उनले भने । महामन्त्री कोइरालाले अहिले देशको तत्कालीन अवस्थाको राजनीतिक समस्या समाधान गर्न र देशलाई सङ्कटबाट बचाउनका लागि आवश्यक परे नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्न तयार रहेको उल्लेख गरे ।
कांग्रेसले मात्र देशलाई सही निकास दिन सक्ने दाबी गर्दै उनले भने, “पाँच वर्षका लागि कम्युनिष्टलाई जनताले मतदान गरेर बहुमत दिई सत्तामा पुर्याएका कारण कांग्रेसले प्रतिपक्षको मात्र धर्म निर्वाह गर्दै आएको छ तर अहिले देशको अवस्था झनै जटिल बन्दै गएकाले कांग्रेस सरकारको नेतृत्व लिन तयार रहेको छ ।”
महामन्त्री कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा अबको सरकार बन्न सक्ने र देशलाई निकाश दिएर आवश्यक परे ताजा जनादेशमा गई राजनीतिक निकास दिने बताए ।






