जनकपुरधाम, २९ चैत । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेसवादी दलले प्रदेश २ लाई जंगल राज्य बनाउन लागेको आरोप लगाएका छन् । शनिबार जनकपुरको रंगभूमि मैदान बाह्रबिघामा जनमत पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले मधेसी जनताको बलिदानीले शासन सत्तामा पुगेका मधेस केन्द्रित दलहरू मधेसमा जंगल राज्य बनाउन लागेको बताएका हुन् । वीर मधेसी सहिदहरूको सपना पूरा गर्न तथा जनता राज्य स्थापना गर्न अब हुने निर्वाचनमा जनमत पार्टी बलियो रूपमा प्रस्तुत हुने उनकाे दाबी छ ।
‘जनमत पार्टीका हरेक कार्यकर्ताहरू अहिलेदेखि निर्वाचनको तयारीमा जुट्नुस्, घरघरमा गएर जनतालाई वर्तमान अवस्थाबारे बताउनुस्,’ राउतले भने ।
यस्तै राउतले सांगठनिक रूपमा आफ्नो पार्टी कमजोर भए पनि जनता राज्य स्थापनाका लागि मनोबल उच्च राखेर अहिलेदेखि नै संगठन विस्तारमा जुट्न निर्देशनसमेत दिए ।






