काठमाडौँ, ५ वैशाख । आज पदमुक्त भएका राष्ट्रियसभाका सांसद एवं गृहमन्त्री रामबहादुर थापा बादलले आजै साँझ गृहमन्त्री पदमा शपथ ग्रहण गर्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई गृहमन्त्री पदमा आजै नियुक्त गर्ने भएपछि नेकपा एमालेको नेताको हैसियतमा उनको शपथको कार्यक्रम तय भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
नेकपा माओबादी केन्द्रबाट २०७४ सालमा राष्ट्रिय सभा सदस्य पदमा उनी निर्वाचित भएका थिए । तर, फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट तात्कालिन नेकपालाई साबिकको नेकपा एमाले र नेकपा माओबादी केन्द्रमा छुट्ट्याई दिएपछि नेता बादल नेकपा एमालेमै रहेका छन् ।
नेता बादल एमालेमा लागेपछि माओबादी केन्द्रले उनको पद रिक्त गराउन संसद सचिवालयमा लिखित पत्र दिएको थियो । संसद सचिवालयले आज नेता बादलको राष्ट्रिय सभा सदस्यको पद रिक्त भएको जनाएको थियो ।






