
खोटाङ, २७ असोज । साकेला गाउँपालिका–२ रतन्छाका एक युवकमा कोरोना संक्रमण देखिएपछि उक्त वडालाई एक हप्ताका लागि सिल गरिएको छ ।
काठमाडौँबाट आएका युवामा कोरोना संक्रमण पुष्टि भएपछि उक्त वडालाई आगामी कात्तिक ३ गतेसम्मका लागि सिल गरिएको हो । घरपरिवार, छिमेकी, टोल, वडा र गाउँपालिकाका स्थानीयवासीलाई सम्भावित संक्रमण हुनबाट बचाउन सिल गरिएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
स्वदेशका विभिन्न ठाउँबाट आएका तथा विदेशबाट आएका २० जनाको स्वाब संकलन गरेर परीक्षणमा पठाइएकामा एक जनाको रिपोर्ट पोजिटिभ देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन मगरले जारी गरेको सूचनामा उल्लेख छ ।