
कञ्चनपुर, २७ असोज । शुक्लाफाँटा नगरपालिका–८ धारापानीका स्थानीयबासी बाघका कारण चिन्तित भएका छन् । दिउँसै पनि बाघले बाख्रा खान थालेपछि स्थानीय चिन्तित भएका हुन् ।
तीन दिनको अवधिमै स्थानीयबासीले पालेका १० भन्दा बढी बाख्रा बाघले खाइसकेको छ । बाख्रा चराउनका लागि वन क्षेत्रमा लैजाँदा र गोठमै राखेका बाख्रा पनि बाघले खान थालेपछि चिन्नित भएको स्थानीयबासी साइमले धामीले बताएका छन् ।
वन संरक्षणमा जोड दिइएपछि बाघ आउन थालेको हो । दुई दिनको अवधिमै बाघले धामीका मात्रै छ वटा बाख्रा मारेर खाएको छ । दुई बाख्रा वन क्षेत्रमा चराउन लगेको बेला बाघले खाइदिएको बताउँदै उनले भने, ‘ दुई वटा बाख्रा वन क्षेत्रमा चराउन लगेका बेला चार वटा बाख्रा खोरमै रहेका बेला बाघले खाइदिएको छ । बस्तीमै बाघ आउन थालेपछि बाख्रालगायत अन्य घरपालुवा जनावर जोगाउनका लागि रातभर जाग्राम बस्नुपरेको छ ।’
गाउँ नजिकैको डाँडाबाटै बाघ गर्जेको आवाज दैनिक सुनिन थालेको छ । बाघको आवाज आउन थालेपछि गाउँका सबै जना घरघरबाट निस्केर बाख्रा जोगाउनका लागि होहल्ला गर्ने र आगो बालेर तर्साउने काममा लागेको धामीले बताए । सावधानी अपनाउँदा अपनाउँदै पनि खोरबाटै बाख्रा लगेको पत्तो नै नलाग्ने उनको भनाइ छ ।
यस्तै स्थानीय रमेश धामी पनि बाघबाट बाख्रा बचाउन रातभर जाग्राम बस्नु परेको बताउँछन् । उनले भने, ‘कहिल्यै पनि बाघ बस्ती र नजिकका वन क्षेत्रमा देखिएको थिएन । तीन दिनदेखि दैनिक बाघ बस्तीमै पुग्न थालेपछि डरका कारण साँझ नहँुदै बालबालिकालाई घरभित्रै राख्नुपरेको छ ।’
मानवीय क्षति हुन नदिन र बाख्रालगायत घरपालुवा जनावर जोगाउन पालैपालो जाग्राम बसेर आगो बाली होहल्ला गरेर बस्नुपरेको स्थानीयवासी दुखेसो पोख्छन् ।
स्थानीयवासी दिउँसो वन क्षेत्रमा बाख्रा, गाई, गोरु चराउन जानसमेत बाघकै डरले बन्द गरेका छन् । दाउरा र मेलापात जाँदासमेत समूहमा जाने गरेको प्रितम धानुकले बताए ।
बाघकै डरले नदी तटीय क्षेत्र र खुला मैदानमा मात्रै समूहमा बाख्रालगायत जनावर चराउन जान थालेको उनले बताए । वन क्षेत्र विगतको तुलनामा हराभरा भएपछि बाघ आउन थालेको स्थानीयवासीको भनाइ छ ।
वन क्षेत्रमा बाघसँगै अन्य जनावरको आवागमनसमेत बढेको छ । बैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महरा वन क्षेत्र संरक्षण भएपछि बाघ बस्तीसम्म पुग्दै आएको बताए ।
उनले भने, ‘वन क्षेत्रमा बाघ देखिएपछि सामुदायिक वनका उपभोक्तालाई समेत वन क्षेत्रमा नजानका लागि सचेत गराएका छौँ । अनियन्त्रित रूपमा वन क्षेत्रमा बाख्रा चराउने कार्यले जोखिम बढेको हो ।’
गत वर्षमात्रै सोही वन क्षेत्रमा बाघले एकै रात दुई दर्जन बढी गाईलाई मारेको थियो ।